काठमाडौं। लगानी बोर्ड नेपालले छिटो छरितो रुपमा सेवा प्रवाह गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई थप आकर्षित गरी लगानी वृद्धिका लागि सहज बनाउन एकल विन्दु सेवा केन्द्र सञ्चालनका लागि गृहकार्य सुरु गरेको छ।
एकल विन्दु सेवा केन्द्रसँग समन्वय गरी कार्य अघि बढाउन १४ वटा सरकारी निकायले अख्तयारीसहित फोकल पर्सन तोकेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, नेपाल राष्ट्र बैंक,अध्यागमन विभाग, आन्तरिक राजस्व विभाग लगायत १४ वटा निकाय रहेका छन्। बोर्डले तत्कालका लागि सम्बन्धत मन्त्रालयरनिकायका फोकल पर्सनसँग समन्वय गरी कार्य अघि बढाउने जनाएको छ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जेन्जी आन्दोलनका क्रममा बोर्डको कार्यालयमा आगजनी भएको हुँदा नयाँ कार्यालयको व्यवस्थापन र कार्यविधिले अन्तिम रुप पाएपछि एकै ठाउँबाट सेवा प्रवाह हुने जानकारी दिए। अटोमेसनबाट काम हुने हुँदा प्रविधिको प्रयोग महत्वपूर्ण भएको उनको भनाइ थियो।
सोही विज्ञ रामकृष्ण सापकोटाले धेरै निकायहरुबाट सेवा प्रवाह गर्नु पर्दा लगानीकर्तालाई झन्झटिलो हुने भन्दै एकल विन्दु सेवा केन्द्रको कार्यान्वयनले लगानीकर्तासँग सम्बन्धित कार्यहरु चुस्त रुपमा हुन सक्ने बताए।
त्यस्तै सार्वजनिक निजी साझेदारी ऐन २०७५, सार्वजनिक तथा लगानी नियमावली २०७७ र लगानी बोर्डको रणनीति तथा व्यावसायिक योजनाले तोकेका सेवा प्रवाहसम्बन्धी कार्यहरु गर्न सहयोग पुर्याउने लगानी बोर्डका सहसचिव हेमराज तामाङले बताए।