काठमाडौं । भारतसहित तेस्रो मुलुकबाट आइक्रिम झिकाउँदा ९ प्रतिशत भन्सार तिरे पुग्छ । तर, स्वदेशमा आइक्रिम बनाउने कच्चा पदार्थ आयात गर्दा ४० प्रतिशत भन्सार तिर्नुपर्छ ।
सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्न तयारी वस्तु र त्यसको कच्चा पदार्थ आयातमा भन्सार दर दुई तहको फरक राख्ने बताए पनि कार्यान्वयन हुन नसक्दा नेपालका रहेका उद्योगहरु मर्कामा परेका छन् ।
‘अहिले कुनै व्यापारीले विदेशबाट आइक्रिम झिकाउँदा ९ प्रतिशत भन्सार तिरे पुग्छ,’ नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले भने, ‘तर, आइक्रिमको कच्चा पदार्थ नेपाल ल्याउँदा ४० प्रतिशतसम्म भन्सार तिर्नुपर्छ ।
४० प्रतिशत भन्सार तिरेर ल्याएको कच्चा पदार्थबाट बनेको तयारी वस्तुले ९ प्रतिशत भन्सार तिरेर झिकाइएको आइक्रिमसँग कसरी प्रतिस्पर्धा गर्नसक्छ?’
सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्ने बताइरहे पनि वास्तविकतामा त्यस्तो नभएको उनको भनाइ छ । आइक्रिम बनाउने उद्योगीले पटक पटक सरकारलाई यस विषयमा जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको अध्यक्ष दाहालको गुनासो छ ।
स्वदेशी डेरी उद्योगले आइक्रिम उत्पादन गर्दा प्रयोग गर्ने कच्चा पदार्थहरु (स्किम मिल्क पाउडर (एचएसकोर्ड ०४०५.२०.००) चिनी (१७०१.१३.९०) बटर (०४०५.१०.००) र विभिन्न स्वाद र सुगन्ध आउने फ्लेवर (१७०१.९१.००) आयात गर्दा भन्सार महशुल दर ४० प्रतिशतसम्म कायम रहेका कारण स्वदेशीमा उत्पादन हुने आइक्रिमकको लागत तलनात्मक रुपमा बढी भएको संघले जनाएको छ ।
तर, विदेशबाट आयातित तयारी आइक्रिमको भन्सार महशुल ९ प्रतिशत र प्रतिकेजी आइक्रिमको भन्सार महशुल पनि न्यून रहेकाले नेपालमा उत्पादन हुने आइक्रिम विदेशी ब्रान्ड भन्दा महँगो भएको उद्योगीको ठम्याइ छ ।
स्वदेशी आइक्रिमको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न आयातित आइसक्रिमको विद्यमान भन्सार महशुल ९ प्रतिशतबाट वृद्धि गरी ३० प्रतिशत र आइसक्रिमको हालको आयातित प्रतिकेजी मूल्य ७०० रुपैयाँ गर्नुपर्ने उद्योगीले बताएका छन् ।
कच्चा दूधको गुणस्तर लामो समयसम्म कायम राख्न दूध ओसार पसार गर्न आवश्यक पर्ने रोल मिल्क ट्यांकर च्यासिस (८७०४.२२.९१) (८७०६.००.८०) को विगतमा भन्सार महशुल १ प्रतिशत कायम थियो ।
सो व्यवस्था हट्न गएको हुनाले दूधको गुणस्तर लामो समयसम्म टिकाई राख्न दूध ओसार पसार गर्न आवश्यक पर्ने रोल मिल्क ट्यांकरको भन्सार एक प्रतिशत कायम गर्न पनि संघले माग गरेको छ ।
स्वदेशी उत्पादनलाई विदेशबाट आयात हुने दुग्धजन्य पदार्थहरुसँग प्रतिस्पर्धी बनाउन डेरी उद्योग आफैले विदेशबाट छपाई गरी ल्याउने दूध तथा दुग्धजन्य पदार्थको प्याकजिङ मेटेरियलको भन्सार महशुल ४० प्रतिशत रहेकाले विदेशी तयारी वस्तु (आइक्रिम, चीज, बटर)सँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न सकेको छैन् ।
यी आयातित वस्तुसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न भन्सार महशुल एक प्रतिशत बनाउनुपर्ने संघले माग गरेको छ ।
दूध तथा दुग्धजन्य पदार्थहरु चिस्यानमा राखी ढुवानी गर्न प्रयोग हुने रेफ्रिजेरेटर प्रणाली जडान गर्न आवश्यक पर्ने (८७०६) अन्तर्गत च्यासिस र सो च्यासिसमा जडान हुने रेफ्रिजेरेटर सिस्टम आयात गरी ल्याउँदा १ प्रतिशत भन्सार महशुल लाग्ने व्यवस्थालाई कायम गर्नुपर्ने उनको माग छ ।