काठमाडौं। पुस ३० पछि भृकुटीमण्डप विशेष महाधिवेशनले नेपाली कांग्रेस संगठनमा सभापति गगन थापा निर्वाचित भएसँगै आगो बनेको विघटित सभापति शेरबहादुर देउवा समूह पनि फागुन २१ को चुनावी प्रक्रियामा सहभागी हुने देखिएको छ। यद्यपि, उसले सर्वोच्च अदालतमा देउवा समूह वैध भएको दाबीसहित आइतबार रिट दायर गरेको छ।
माघ ६ नजिकिँदै गर्दा कांग्रेसमा संस्थापन सभापति गगन थापा समूह, यसअघि छरपस्ट देखिँदै आएको देउवा र नेता शेखर कोइराला समूह गरेर तीन गुटलाई टिकट बाँड्नुपर्दा वितरणमा ढिलाइ भएको हो।
चुनावमा जानुपर्ने भनेर शेखर समूहका नेता कोइरालाले विज्ञप्ति जारी गरिसकेका छन् भने देउवा समूहका मीनबहादुर विश्वकर्माले पनि सबै पक्षको भागशान्तिमा टिकट बाँड्नुपर्ने र गगनलाई सभापति मानिने घोषणासहितका फेसबुक वक्तव्य निकालेका छन्। उनले समानुपातिक टिक वितरणमा देउवाले हस्ताक्षर गरेकाले अब गगनको हस्ताक्षरलाई मान्यता दिएर अगाडि बढ्नुपर्ने बताएका छन्।
यसले पनि देखिन्छ–कांग्रेसमा टिकट वितरण पेचिलो बन्दै गएको छ। सभापति गगन थापाले उम्मेदवार छनोटमा सबैलाई समेट्न आफ्नो प्रयास रहेको बताएका छन्। थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताइसकेकाले अहिले पनि कांग्रेसमा गुटगत टिकट वितरण हुने निश्चित छ।
उम्मेदवार छनोटको अन्तिम चरणमा आइपुग्दा उनले केन्द्रबाट टिकट बाँड्ने परिपाटी नै गलत भएको तर अहिलेको विशिष्ट परिस्थितिले बाध्यता सिर्जना गरेको स्वीकारेका छन्। सोमबार भिडिओ सन्देशमार्फत सभापति थापाले कांग्रेस उम्मेदवार छान्ने अन्तिम चरणमा रहेको बताएका हुन्।
‘हामी अहिले उम्मेदवार छान्ने अन्तिम चरणमा छौं। त्योभन्दा धेरै भिन्न तरिकाले गर्नुपर्छ भन्ने मेरो हाम्रो सोचाइ हो। खास गरी अन्तिम चरणमा केन्द्रले छान्ने भन्ने कुरा नै गलत हो। तलैबाट प्रत्येक निर्वाचन क्षेत्रबाट छान्नुपर्छ भनेर विधानको प्रस्ताव पनि गरेका छौं,’ उनले भनेका छन्। आफू जिम्मेवारीमा आउनुभन्दा अगावै तलबाट उम्मेदवार सिफारिस भएर आएको पनि उनले बताएका छन्।
‘यस्तो बेलामा पार्टीको जिम्मेवारीमा आइपुगेको छु, त्यतिखेर पुरानै विधानको आधारमा १६५ निर्वाचन क्षेत्रबाट उमेदवारहरूले सिफारिस गरिएको छ। कुनै ठाउँमा दर्जन उम्मेदवार सिफारिस गरिएको छ। कहीँ मिलाइएको छ। कहीँ मिलाइएको छैन। त्यसमाथि तपाईंहरू सबैलाई थाहा छ, यो जिम्मेवारीमा आइपुग्दै गर्दा आएको केही दिनपछाडि लगत्तै निर्वाचन हुने अवस्था भयो,’ उनको भनेका छन्, ‘निर्वाचन आयोगको निर्णयपछाडि केही साथीहरूले यो चित्त बुझेन भनेर कानुनी परीक्षण खोजिराख्नुभएकाे स्थिति छ। कानुनी परीक्षण खोजिराख्नुभएका साथीलाई पनि समेटेर लैजाऊँ भनेर हिजो साँझसम्म त मेरो केही प्रयास रह्यो जसको कारणले गर्दा अहिले एकदमै धेरै समयको चाप परेको छ।’
पार्टीभित्र नयाँ र पुरानाको सन्तुलन र यसलाई समावेशी बनाउने प्रयास भइरहेको उनले बताएका छन्। ‘हामी आज दिनभरिमा सबै कुराहरू टुंग्याउँछौं। बेस्ट (अधिकतम राम्रो) कोसिस गर्छु। जो साथी पार्टीको तर्फबाट रूख चिह्नको आधिकारिकता लिएर आउनुहुन्छ, त्यो साथीको पक्षमा सबै जना पार्टीको साथीहरू एकढिक्का भएर मनमा कुनै पनि कुरा नराखीकन लाग्नुहोला। यो एउटा अभियान हो। यो अभियानमा हामी सबै जुट्नुपर्छ भनेर तपाईहरू लाग्नुहुन्छ भन्ने विश्वासको साथमा सबैलाई अनुरोध गर्न चाहन्छु,’ उनको आग्रह छ।
उम्मेदवारको सूची नै बोकेरै देउवा पक्ष भाग खोज्न आएपछि कांग्रेसको टिकट वितरणमा ढिलाइ भएको बुझिएको छ। कांग्रेसले आइतबार नै हिमाली र केही पहाडी जिल्लाको टिकट फाइनल गर्ने तयारी गरे पनि देउवा समूहले भाग खोजेपछि स्थगित भएको थियो।
स्रोतका अनुसार हिजै राती करिब २५ जिल्लाको टिकट टुंगो लगाएर सार्वजनिक गर्ने तयारी भएको थियो । तर, नाटकीय रूपमा असन्तुष्ट देउवा समूहले टिकटमा सहभागिता खोजेपछि अन्तिममा रोकिएको हो। देउवाले रमेश लेखक र डा. मिनेन्द्र रिजाललाई पठाएर हिस्सा खोजेपछि टिकट वितरण स्थगन गरिएको दाबी संस्थापनको छ। त्यसपछि सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मासहित संसदीय बोर्ड सदस्यले असन्तुष्ट पक्षलाई पनि टिकट दिनुपर्छ भन्दै उम्मेदवारको सूची बाहिर सार्वजनिक गरेनन्।
आइतबार पनि टिकट वितरणलाई लिएर तीनवटै प्रमुख गुटका नेताबीच धुम्बाराहीस्थित एक होटलमा लामो छलफल भएको बुझिएको छ। संस्थापन थापा समूहका केन्द्रीय सदस्य मधु आचार्य र देवराज चालिसे, पूर्वसभापति देउवा समूहबाट लेखक र नेता डा. शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजाल एकै ठाउँ भेला भएर छलफल गरेका हुन्। उनीहरूबीच टिकट वितरण भागबन्डाबारे छलफल भएको हो। टिकट वितरणमा बराबर गरिए थापालाई सभापति मान्न तयार भएको संकेत उनीहरुले गरेका छन्।