अहिले सबैले उद्योग कसरी सञ्चालन गर्ने भन्ने विषयमा मात्रै छलफल गरिरहेका छौं । यो तत्कालीन विषय मात्रै हो । अहिले सरकारले समन्वय गरेन भन्ने कुरा बढी उठिरहेको छ । केही दिन पनि सरकारी निकायबीच समन्वय होला । अहिलेको समस्या पनि सल्टिएला । अहिले देखिएको समस्या एक हप्ता वा दुई हप्तामा समाधान होला । र उद्योग खुल्दै जाला । बजार पनि खुल्दै जाला ।
यति भइसके पछि पनि अबको आर्थिक स्थिति कस्तो होला, हाम्रो क्रयशक्ति कस्तो होला, योजनाहरु कसरी जान्छ ? यो विषयमा नेपाल उद्योग वाणिज्य महासंघले अध्ययन गर्नुपर्छ ।
पर्यटन क्षेत्र चलेन भने त्यसको चेन असर कुन कुन क्षेत्रका कति पर्छ भन्ने अध्ययन गर्नुपर्छ । लकडाउन खुलेपछि सम्पूर्ण क्षेत्र पुरानै अवस्थामा फर्किन्छ भन्ने जसरी कुरा गरिरहेका छौं । त्यो सम्भव छैन ।
अहिले भन्दा पनि अबका दिनमा दर्दनाक अवस्था आउने सम्भावना छ । आगामी २ महिना, ४ महिना वा ६ महिना पछि हाम्रो स्थिति कस्तो हुन्छ ? भन्ने अध्ययन महासंघले गर्नुपर्छ ।
महासंघसँग विज्ञ टिम पनि छ । दुई चार जना विज्ञ बाहिरबाट ल्याएर पनि गहिरो रुपमा अध्ययन गरेर आगामी दिनमा कस्तो खालको असर देखिन्छ भन्ने बारेमा अध्ययन हुनु एकदमै जरुरी छ ।
पोष्ट कोभिड १९ पछि सम्पूर्ण उद्योग÷व्यवसायमा कस्तो खालको असर पुग्न सक्छ भन्ने निकाल्न जरुरी छ । यही अवस्था दुई तीन महिना बढ्यो भने के हुन्छ ? अझ लम्बियो भने कस्तो अवस्था आउँछ ? यस्तो अध्ययन महासंघले गर्नुपर्छ जस्तो लाग्छ ।
महासंघले व्यावसायिक क्षेत्रको भिन्नै, बैंकिङ क्षेत्रको भिन्नै अध्ययन गरेर सरकारलाई बुझाउनुपर्छ । त्यस्तो खालको अध्ययन गरेर सरकारलाई बुझाउन सकियो भने वा कोभिड पछिको अर्थतन्त्रका कस्तो असर पर्यो भन्ने आँकडा आउँछ ।