काठमाडौं, नेपालको अर्थतन्त्रमा खाद्यान्न महँगाइको नयाँ दबाब देखिने संकेत देखिएको छ। जीडीपी गणना गर्ने एकमात्र सरकारी निकाय राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रथम त्रैमासिक तथ्यांकले कृषि उत्पादन मूल्यमा उल्लेखनीय वृद्धि देखाएको छ भने औद्योगिक क्षेत्रमा सामान्य वृद्धि र निर्माण क्षेत्रमा मन्दीको स्पष्ट संकेत देखिएको छ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिकमा कृषि उत्पादक मूल्य सूचकांक १९३.७२ मा पुगेको छ, जुन गत वर्षको सोही अवधिको १८८.९९ को तुलनामा २.५ प्रतिशतले बढी हो। यो वृद्धि सामान्य देखिए पनि यसको सीधा असर उपभोक्ताको भान्सामा पर्नेछ। किसानले उत्पादन गरेको बालीको मूल्य बढ्नु भनेको केही समयपछि बजारमा ती वस्तुको खुद्रा मूल्य बढ्ने प्रारम्भिक संकेत हो।
कृषि उत्पादक मूल्यमा यो वृद्धिको मूल कारण अन्नबालीको मूल्य बढेको हो। कुल कृषि उत्पादक मूल्य सूचकांकमा करिब ५८ प्रतिशत भार ओगटेका अन्नबालीमा मकै, धान र कोदोको उत्पादक मूल्य बढेको तथ्यांक कार्यालयले जनाएको छ। यसका साथै दूध, अण्डा र माछाजस्ता दैनिक उपभोगका पशुपन्छीजन्य उत्पादनको उत्पादक मूल्य पनि बढेको छ। यसले कृषक स्तरमा केही मात्रामा आम्दानी सुधारको सकारात्मक पक्ष देखाए पनि आगामी दिनमा खाद्य मुद्रास्फीतिमा दबाब पर्ने सम्भावना बढेको कार्यालयले चेतावनी दिएको छ।
औद्योगिक क्षेत्रमा भने मिश्रित तस्बिर देखिएको छ। औद्योगिक उत्पादक मूल्य सूचकांक प्रथम त्रैमासिकमा १६४.२६ कायम भएको छ, जुन गत त्रैमासको १६३.३७ को तुलनामा मात्र ०.५ प्रतिशत र गत वर्षको सोही अवधिको १५९.४१ को तुलनामा करिब ३ प्रतिशतले बढेको हो।
छोटो अवधिमा मूल्य वृद्धि न्यून हुनु औद्योगिक उत्पादक मूल्यमा ठूलो चाप नरहेको र मूल्य समायोजन क्रमिक रूपमा भइरहेको संकेत गर्दछ। तर, दीर्घकालीन रूपमा हेर्दा कच्चा पदार्थको मूल्य, ऊर्जा लागत, श्रम लागत र आयातित मध्यवर्ती वस्तुको मूल्य परिवर्तनले सञ्चित लागत दबाब सिर्जना गरेको देखिन्छ।
विभिन्न औद्योगिक उपक्षेत्रको विश्लेषण गर्दा रोचक तथ्य बाहिर आएको छ। सिमेन्ट, वनस्पति तेल, सूर्तिजन्य उत्पादन, साबुन, डिटर्जेन्ट, केही खाद्य वस्तु, रासायनिक पदार्थ र पेय पदार्थजस्ता उपभोगमुखी उद्योगमा उत्पादक मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। यी उद्योगमा उपभोक्ता मागमा स्थिरता वा वृद्धि रहेकाले उत्पादकले आफ्नो बढेको लागतको केही अंश मूल्यमा समायोजन गर्न सफल भएको तथ्याङ्क कार्यालयले विश्लेषण गरेको छ। यसको अर्थ यी वस्तु उपभोक्ताका लागि अझ महँगो हुँदै गएको हो।
यसको ठीक विपरीत फलामजन्य वस्तु, प्लाष्टिकका पाइप फिटिंग्स र इँटाजस्ता निर्माणसँग सम्बन्धित उद्योगमा उत्पादक मूल्य वृद्धिदर कमजोर वा ऋणात्मकसमेत देखिएको छ। यो तथ्यांकले नेपालको निर्माण क्षेत्रमा गम्भीर समस्या रहेको स्पष्ट संकेत गर्दछ। निर्माण गतिविधिमा अपेक्षित सुधार हुन नसक्नु र बजारमा तीव्र प्रतिस्पर्धाको दबाबले यी उद्योगले मूल्य बढाउन नसकेको देखिन्छ। यसले अर्थतन्त्रको महत्वपूर्ण स्तम्भ मानिने निर्माण क्षेत्रमा लगानी र गतिविधि सुस्त रहेको प्रमाणित गर्दछ।
औद्योगिक उत्पादन सूचकाङ्कले पनि यही अवस्था झल्काउँछ। प्रथम त्रैमासिकमा यो सूचकांक १२५.२ कायम भएको छ, जुन गत वर्षको सोही अवधिको १२३.० को तुलनामा मध्यम स्तरको वृद्धि मात्र हो। खाद्य तेल, पेट्रोलियमजन्य वस्तु, रासायनिक र केही उपभोग्य सामग्रीको उत्पादनमा उल्लेखनीय वृद्धि देखिएको छ, जसले मागमा आधारित उत्पादन बढेको संकेत गर्दछ। तर, निर्माणसँग सम्बन्धित उद्योग, कपडा र केही अन्य उद्योगमा उत्पादन उल्लेखनीय रूपमा बढ्न सकेको छैन। समग्रमा औद्योगिक क्षेत्र स्थिर रहे पनि विभिन्न उद्योगहरूबीच गहिरो असमानता देखिएको छ।
निर्माण क्षेत्रको तथ्यांकले मन्दीको स्पष्ट चित्र प्रस्तुत गरेको छ। निर्माण क्षेत्रको लागत मूल्य सूचकांक प्रथम त्रैमासिकमा १५२.३ कायम भएको छ। यद्यपि यो गत वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले बढेको छ, तर गत त्रैमासको तुलनामा भने १.३९ प्रतिशतले घटेको देखिन्छ। सिमेन्ट, आइरन रड, बालुवा, काठ र ढुंगाजस्ता प्रमुख निर्माण सामग्रीको मूल्य घटेकाले समग्र लागत सूचकांक कम भएको हो।
सामान्यतया निर्माण सामग्रीको मूल्य घट्नु राम्रो संकेत मानिन्छ, तर यसपटकको घटाइ मागमा आएको कमीको परिणाम हुन सक्ने अर्थशास्त्रीहरू बताउँछन्। निर्माण क्षेत्रमा लगानी र गतिविधि घटेपछि यी सामग्रीको माग घटेको र त्यसैले मूल्य घटेको हुन सक्छ।
तथापि, तथ्यांक कार्यालयले दीर्घकालीन रूपमा निर्माण सामग्री र कामदारको ज्यालामा निरन्तर दबाब कायमै रहने चेतावनी दिएको छ। यसको अर्थ भविष्यमा निर्माण लागत पुनः बढ्न सक्ने सम्भावना रहेको हो।
राष्ट्रिय तथ्यांक कार्यालयले यी सूचकांकले मुद्रास्फीति विश्लेषण, राष्ट्रिय लेखा अनुमान र तथ्यमा आधारित आर्थिक नीति निर्माणका लागि महत्वपूर्ण आधार प्रदान गर्ने जनाएको छ। प्रथम त्रैमासिकका यी सूचकांकले कृषि क्षेत्रमा उत्पादक मूल्यमा निरन्तर वृद्धि, उद्योग क्षेत्रमा असमान उत्पादन वृद्धि र निर्माण क्षेत्रमा अल्पकालीन लागत घटबढको अवस्था स्पष्ट रूपमा देखाएका छन्। यी प्रारम्भिक नतिजा हुन् र थप तथ्यांक प्राप्त भएपछि परिमार्जित हुन सक्ने कार्यालयले जनाएको छ।
समग्रमा, नेपाली अर्थतन्त्रले चुनौतीपूर्ण अवस्थाको सामना गरिरहेको देखिन्छ। एकातिर कृषि उत्पादक मूल्य बढेकोले किसानलाई केही राहत मिले पनि उपभोक्तालाई महँगाइको मार सहनुपर्ने अवस्था आउँदै छ। अर्कोतिर निर्माण क्षेत्रको मन्दीले आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पारिरहेको छ। सरकारले यी संकेतलाई गम्भीरतापूर्वक लिएर उपयुक्त नीतिगत उपाय अवलम्बन गर्नुपर्ने अर्थशास्त्रीको सुझाव छ।