काठमाडौं। प्रतिनिधिसभा विघटनपछि फागुन २१ गतेका लागि तोकिएको निर्वाचन मितिले देशको राजनीतिक वातावरण तातेको छ। त्यसको प्रत्यक्ष असर नेपालका प्रमुख आर्थिक क्षेत्रमध्ये एक पर्यटन उद्योगमा पर्न थालेको छ। निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा यही मितिमा नेपाल प्रवेश गर्ने र त्यस अघिदेखि देशभित्र रहेका हजारौँ विदेशी पर्यटकको आवतजावत, सुरक्षा र व्यवस्थापनबारे अहिलेसम्म स्पष्ट निर्णय नआउँदा पर्यटन व्यवसायीहरू अन्योलमा परेका हुन्।
फागुन (मार्च) महिना नेपाल पर्यटनका लागि सबैभन्दा महत्वपूर्ण समय मानिन्छ। विशेष गरी हिमाली क्षेत्रमा पदयात्राका लागि उपयुक्त मौसम हुने भएकाले दैनिक दुईदेखि तीन हजारसम्म विदेशी पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरिरहेका हुन्छन्।
निर्वाचनको समय नजिकिए पनि त्यो साता मात्रै करिब २५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल प्रवेश गर्ने अनुमान छ। तर, निर्वाचनको बेला सामान्यतया लागू हुने आवतजावत प्रतिबन्ध, सवारी साधन सञ्चालनका लागि पास अनिवार्य हुने व्यवस्था तथा आन्तरिक उडान बन्द हुने अभ्यासले फागुन २१ अगाडि आउने पर्यटकलाई कसरी गन्तव्यसम्म पुर्याउने अन्योलताले समस्या भएको होटल एशोसिएशन अफ नेपाल (हान)का अध्यक्ष विनाक शाहले बताए।
‘विदेशी पर्यटकहरू क्षणिक निर्णय गरेर नेपाल आउने होइनन्। उनीहरूले महिनौँ, कहिलेकाहीँ एक वर्ष अघिदेखि होटल, ट्रेकिङ, उडान र अन्य सेवा बुक गरिसकेका हुन्छन्,’ अध्यक्ष शाहले भने, ‘यस्तो अवस्थामा अन्तिम समयमा अस्पष्टता रहनु व्यवसायी मात्र होइन, देशकै छविका लागि हानिकारक हुन्छ।’
निर्वाचन आउन ३६ दिन मात्र बाँकी रहँदा समेत निर्वाचन आयोगले पर्यटकबारे कुनै पनि जानकारी नगराउनु दु:ख भएको उनले बताए। निर्वाचन लोकतान्त्रिक प्रक्रिया भए पनि त्यसले पर्यटनजस्तो संवेदनशील र निर्यातमुखी उद्योगलाई अवरुद्ध गर्न नहुने शाहको भनाइ छ। उनका अनुसार होटलमा ठूलो मात्रामा अग्रिम बुकिङ भइसकेको छ। यदि पर्यटक आवतजावतमा समस्या आए त्यसको प्रत्यक्ष असर रोजगारी, लगानी र सेवा क्षेत्रमा पर्छ।
निर्वाचनकै नाममा उनीहरूको स्वतन्त्र आवतजावतमा अनावश्यक अवरोध सिर्जना हुनु हुँदैन।
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले चुनावी समय तोकिएको मिति पदयात्राका लागि महत्वपूर्ण सिजन रहेको बताए। उनका अनुसार यही समयमा हिमाली क्षेत्र, पदमार्ग र दुर्गम गाउँमा हजारौँ विदेशी पर्यटक पुगिरहेका हुन्छन्। यदि, निर्वाचनका कारण एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने अवस्था आए पर्यटकहरू बाटोमै अलपत्र पर्ने जोखिम बढ्छ।
शेर्पाका अनुसार पर्यटकको सुरक्षाको प्रत्याभूति दिनु राज्यको दायित्व हो। निर्वाचनकै नाममा उनीहरूको स्वतन्त्र आवतजावतमा अनावश्यक अवरोध सिर्जना हुनु हुँदैन। यस्तो अवस्था आए त्यसको सन्देश अन्तर्राष्ट्रिय बजारमा नकारात्मक जाने र नेपालको पर्यटनमा दीर्घकालीन असर पर्ने उनको चेतावनी छ।
ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपालका पूर्वअध्यक्ष खुम सुवेदीले समस्या नीतिगतभन्दा सूचनाको अभावले गहिरिएको बताए। उनका अनुसार कतिपय विदेशी पर्यटकहरूले नेपाल भ्रमणका लागि एक वर्ष अघिदेखि बुकिङ गरिसकेका छन्। तर, उनीहरूलाई फागुन २१ मा नेपाल आउन दिने कि नदिने, आउन दिएपछि देशभित्र यात्रा गर्न पाउने कि नपाउने भन्नेबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी दिइएको छैन।
यदि विदेशी पर्यटकलाई आवतजावतमा रोक लगाउने हो भने त्यो जानकारी पहिले दिनुपथ्र्यो। तर, अहिले ढिला भइसकेको सुवेदीको भनाइ छ। यस्तो अन्योलले क्यान्सिलेसन, रिफन्ड र अन्तर्राष्ट्रिय स्तरमै विवाद सिर्जना हुन सक्ने उनी बताउँछन्।
निर्वाचनको दिन अन्तर्राष्ट्रिय उडान बन्द नहुने भए पनि आन्तरिक उडान ठप्प हुने सामान्य अभ्यास रहेको छ। यही विषयले पर्यटन व्यवसायीलाई थप चिन्तित बनाएको छ। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाका अनुसार काठमाडौं बाहिरका प्रमुख पर्यटकीय गन्तव्यहरू आन्तरिक उडानमै निर्भर छन। लुक्ला, पोखरा, जोमसोम, भैरहवालगायतका स्थानमा जाने विदेशी पर्यटकलाई आन्तरिक उडान बन्द हुँदा कसरी पुर्याउने भन्ने स्पष्ट योजना छैन। सडकमार्ग प्रयोग गर्नुपर्ने अवस्थामा सवारी साधन सञ्चालनका लागि पास आवश्यक पर्ने भएकाले समस्या झन जटिल बन्ने उनको भनाइ छ।
यसअघि निर्वाचनका बेला निर्वाचन आयोगले पास दिएर नेपाल पर्यटन बोर्डसँग समन्वय गरी पर्यटकहरूको यात्रा व्यवस्थापन गर्ने अभ्यास रहेको थियो।
निर्वाचनको समय होटल तथा रेष्टुरेन्टहरूले सामान्यतया एक तिहाइ कर्मचारी मात्र राखेर सञ्चालन गर्ने गर्छन। तर कर्मचारी स्वयंको आवतजावत कसरी सहज बनाउने भन्ने विषयमा समेत अन्योल कायम छ। यदि कर्मचारी नै होटल वा रेष्टुरेन्टसम्म पुग्न नसके सेवा प्रवाह प्रभावित हुने र त्यसको असर प्रत्यक्ष रूपमा पर्यटकको अनुभवमा पर्ने व्यवसायीहरूको चिन्ता छ। पर्यटन उद्योग सेवा र अनुभूतिको व्यापार भएकाले सानो अव्यवस्थाले पनि ठूलो नकारात्मक प्रभाव पार्ने उनीहरू बताउँछन।
यसअघि निर्वाचनका बेला निर्वाचन आयोगले पास दिएर नेपाल पर्यटन बोर्डसँग समन्वय गरी पर्यटकहरूको यात्रा व्यवस्थापन गर्ने अभ्यास रहेको थियो। तर, यसपटक अहिलेसम्म त्यस्तो ठोस कार्ययोजना सार्वजनिक नहुँदा व्यवसायीहरू अझै अन्योलमै छन। फागुन २१ पदयात्राका लागि मुख्य सिजन भएकाले त्यस समयमा यात्रा गरिरहेका पर्यटकहरूको सुरक्षाको प्रत्याभूति कसरी गर्ने र आवतजावतका लागि कस्तो वातावरण बनाउने भन्ने विषयमा स्पष्ट निर्देशिका आवश्यक रहेको व्यवसायीहरूको माग छ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले भने पर्यटकहरूको आवतजावत पूर्ण रूपमा रोक्ने नीति नरहेको स्पष्ट पारेका छन्। उनका अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत पास दिने व्यवस्था गर्न लागिएको छ। अत्यावश्यक सवारीसाधन बन्द नहुने र पर्यटकलाई निर्वाध रूपमा यात्रा गर्न सम्बन्धित जिल्लाको प्रशासन कार्यालयमार्फत पास वितरण गरिने उनले जानकारी दिए।
निर्वाचनको दिन अन्तर्राष्ट्रिय उडान बन्द नहुने र आन्तरिक उडान भने सामान्यतया बन्द हुने उनले बताए। तर, विदेशी पर्यटकको हकमा पासको आधारमा आन्तरिक उडानसमेत सञ्चालन गर्न सकिने व्यवस्था रहेको उनको भनाइ छ।