काठमाडौं। हुन त एयरलाइन्स क्षेत्रलाई ग्लामरस बिजनेशका रूपमा हेरिँदै आएको छ। झट्ट हेर्दा आकर्षक, हाई–प्रोफाइल र प्रतिष्ठासँग जोडिएको देखिने यो क्षेत्रमा पछिल्लो समय लगानीकर्ताको आकर्षण फेरि बढ्न थालेको छ। लामो समय घाटा, व्यवस्थापन संकट र नियामकीय जटिलताले थलिएको उड्डयन उद्योगमा नयाँ लगानीकर्ताहरुको प्रवेशले बजार फेरि चलायमान हुने देखिन्छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार हाल एयरलाइन्स र हेलिकोप्टर सेवा सञ्चालनका लागि सातवटा नयाँ कम्पनी विभिन्न चरणमा पाइपलाइनमा छन्। तीमध्ये केहीले व्यावसायिक योजना र जहाज व्यवस्थापनको तयारी गरिरहेका छन्।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सात वटा कम्पनीमध्ये दुईवटा पुरानै रहेको र पाँचवटा नयाँ थपिएको जानकारी दिए। सञ्चालनका लागि विभिन्न चरणमा पुगेका कम्पनीमध्ये ४ वटा हेलिकोप्टर र ३ वटा एयरलाइन्स कम्पनी रहेका छन्।
हाल विभिन्न चरणमा पुगेका हेलिकोप्टर कम्पनीहरुमा हेली एयर, सगरमाथा एयर, गगनचुम्बी एयर र सुमेदा एयर रहेको छ। यस्तै, एयरलाइन्स कम्पनीतर्फ डाफे, गुण र बिबी एयरवेज रहेको छ। यीमध्ये गुण यसअघि सञ्चालनमा रहेर बन्द भएकोले पुनः सञ्चालनका लागि विभिन्न चरणहरु पार गरिरहेको र बिबिले लाइसेन्स लिएर जहाज ल्याउन नसकेपछि पुनः अर्को चरणको डकुमेन्टहरु बुझाउने काम गरिरहेको छ।
एयरलाइन्स कम्पनी सञ्चालन गर्न पाँचवटा चरणहरु पार गर्नुपर्ने हुन्छ। तीमध्ये हेली एयर, सगरमाथा, गगनचुम्बी र डाफेको एयर अपरेटर सर्टिफिकेट (एओसी) को पाँचवटा चरणमध्ये तेस्रो अर्थात् डकुमेन्ट इभ्यालुयसन (कागजात मूल्यांकन) को प्रक्रियामा छ। तेस्रो चरणमा पुग्नु अघि प्रिएप्लीकेसन र फर्मल एप्लिकेसन गर्नुपर्छ। ती चरणहरु पार भएपछि मात्र तेस्रो चरणमा प्रवेश हुन्छ। तेस्रो चरण पार गरेपछि डेमोस्ट्रेसन र सर्टिफिकेसन पाउने छ।सर्टिफिकेसनको चरण पारगरेपछि उडानमा जाने बाटो खुल्ने छ।
गुण र बिबी कसरी पुग्यो तेस्रो चरणमा
यसअघि सञ्चालनमा रहेको गुण एयरलाइन्सले पुनः पाँचौ चरणनै पार गर्नुपर्ने स्थिति किन आयो त? प्राधिकरणका सूचना अधिकारी भुलका अनुसार एओसी नविकरण नभएको कारणले सुरुवाती चरणबाटै प्रक्रियाहरु अगाडी बढेको हो।
गुणासँग हाल रहेको जहाज लामो समयदेखि ग्राउण्डेड भएकोले प्रक्रियाअनुसार सबै पार्टपुर्जाहरु चेकजाँच गर्न समय लाग्ने हुन्छ। इन्जिनदेखि सबै पार्टपुर्जा चेकजाँचका लागि विदेशबाट इन्जिनियरहरु ल्याउनुपर्ने हुन्छ। उनीहरुले चेकजाँच गरेर ती सबै ठिक छ भन्ने सर्टिफाई भएपछि मात्र डेमोस्ट्रेसनको लागि योग्य हुने र एओसीको काम सुरु हुनेछ।
बिबी एयरवेजले प्रुफिङ फ्लाइट गरेर उडान सञ्चालन अनुमतीपत्र (एनओसी) पाएको १ वर्षभित्रमा जहाज ल्याएको भए सर्टिफाइ हुन्थ्यो। र, उसले उडान अनुमति पाउथ्यो। अहिले बिबीको लाइसेन्सको म्याद सकिएकोले संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नविकरण भएर आएपछि मात्र बाँकी काम सुरु हुन्छ।
सामान्यतया, एउटा एयरलाइन्स कम्पनी दर्ता र सञ्चालन प्रक्रिया पूरा गर्न करिब १ वर्ष समय लाग्छ। एक दर्जन बढी हेलिकोप्टर र आधा दर्जन एयरलाइन्सले आन्तरिक उडान गरिरहेको छ।