काठमाडौं। नेपालको अग्रणी निजी इक्विटी तथा भेन्चर क्यापिटल टिम भेन्चर्सले हस्पिटालिटी क्षेत्रमा पहिलो पटक लगानी गरेको छ। कम्पनीले होटल गरिमामार्फत सञ्चालित सोल्टी वेस्टएन्ड इटहरीमा आफ्ना सहायक संस्थासहित २७ प्रतिशत इक्विटी साझेदारी हासिल गरेको हो।
पूर्वी नेपालको उदाउँदो व्यावसायिक केन्द्र इटहरीमा अवस्थित सोल्टी वेस्टएन्ड इटहरी पाँचतारे स्तरको होटल हो, जुन नेपालकै पहिलो अन्तर्राष्ट्रिय होटल चेनका रूपमा परिचित सोल्टी होटल्स एन्ड रिसोर्ट्स ब्रान्डअन्तर्गत सञ्चालनमा रहेको छ।
टिम भेन्चर्सका अध्यक्ष केशाङ शेर्पाका अनुसार यो लगानीले होटलको आगामी विस्तार योजनालाई सहयोग पुर्याउनेछ। उनले विस्तार, कर्पोरेट सुशासन सुदृढीकरण तथा संस्थागत क्षमता अभिवृद्धि टिम भेन्चर्सको प्रमुख उद्देश्य रहेको बताए।
टिम भेन्चर्सका निर्देशक दोर्जे ग्याल्त्सेन लामाले पर्यटन क्षेत्रको आर्थिक महत्वलाई ध्यानमा राख्दै आतिथ्य क्षेत्रमा लगानी अवसर खोजिएको बताए। उनका अनुसार सशक्त ब्रान्ड, अनुभवी अपरेटर र स्पष्ट वृद्धि सम्भावनाका कारण सोल्टी वेस्टएन्ड इटहरीमा लगानी गरिएको हो।
निर्देशक विजयबहादुर श्रेष्ठले टिम भेन्चर्सको भूमिका पुँजी लगानीमा मात्र सीमित नहुने स्पष्ट पार्दै सुशासन, संगठनात्मक क्षमता विकास र दीर्घकालीन व्यावसायिक वृद्धिमा सक्रिय सहकार्य रहने बताए।
सोल्टी वेस्टएन्ड इटहरीका प्रबन्ध निर्देशक विनोद पौडेलले टिम भेन्चर्सलाई इक्विटी साझेदारका रूपमा स्वागत गर्दै यस साझेदारीले होटलको विस्तार तथा दीर्घकालीन रणनीतिमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
२०१६ मा स्थापना भएको टिम भेन्चर्सले स्वच्छ ऊर्जा, कृषि, उत्पादन, प्रविधि तथा मिडियाजस्ता क्षेत्रमा वृद्धि–केन्द्रित व्यवसायमा लगानी गर्दै आएको छ।
होटल गरिमा स्वामित्वको सोल्टी वेस्टएन्ड इटहरी ८२ कोठायुक्त होटल हो। होटल हाल पाँचतारे वर्गीकरणको अन्तिम चरणमा छ भने पूर्वी नेपालको प्रमुख आतिथ्य गन्तव्यका रूपमा स्थापित हुने लक्ष्य लिएको छ।