काठमाडाैं। बेलायती राजनीतिज्ञ, अन्तर्राष्ट्रिय व्यवसायी, खर्बपति तथा विश्वप्रसिद्ध जनमत सर्वेक्षक लर्ड एशक्रफ्ट नेपालमा चुनाव हुन करिब एक महिना बाँकी रहेको समयमा निजी विमान (प्राइभेट जेट) मार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। विश्वका विभिन्न देशमा उच्चस्तरीय राजनीतिक जनमत सर्वेक्षण सञ्चालन गर्दै आएका एशक्रफ्टको नेपाल आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
पोखरा विमानस्थल स्रोतका अनुसार उक्त निजी जेट बेलायतबाट माल्टा र सिंगापुर हुँदै पोखरा आएको हो। यद्यपि, विमानस्थल प्रशासनले औपचारिक रूपमा यात्रुको पहिचान सार्वजनिक नगरे पनि लर्ड एशक्रफ्टले बिहीबार बिहान सामाजिक सञ्जाल एक्समार्फत माछापुच्छ्रे हिमालको तस्बिर सार्वजनिक गर्दै नेपालबाट शुभप्रभात भनेका छन्।

लर्ड एशक्रफ्ट बेलायतको कन्जरभेटिभ पार्टीका पूर्वउपाध्यक्ष तथा कोषाध्यक्ष, अन्तर्राष्ट्रिय लोकतन्त्र संघका मानार्थ अध्यक्ष तथा प्रिभी काउन्सिलका सदस्य हुन्। उनी राजनीति केन्द्रित उच्चस्तरीय जनमत सर्वेक्षण का लागि विश्वभर परिचित छन्। उनले स्थापना गरेको लर्ड एशक्रफ्ट पोल्स ले बेलायतसहित विभिन्न देशका चुनाव, मतदाताको धारणा र राजनीतिक नेतृत्वबारे नियमित सर्वेक्षण सार्वजनिक गर्दै आएको छ, जुन नीति निर्माण र राजनीतिक विश्लेषणमा व्यापक रूपमा प्रयोग हुने गरेको छ।
व्यवसायिक क्षेत्रमा लर्ड एशक्रफ्टका सुरक्षा सेवा, वित्तीय सेवा, प्रविधि र लगानी क्षेत्रमा विश्वव्यापी व्यापारिक संलग्नता रहेको छ। साथै उनी शिक्षा, स्वास्थ्य, अपराध नियन्त्रण, सैनिक कल्याण र वन्यजन्तु संरक्षण क्षेत्रमा करोडौँ पाउन्ड दान गर्ने परोपकारी व्यक्तित्वका रूपमा पनि चिनिन्छन्।
बहादुरीप्रति विशेष रुचिका कारण उनीसँग विश्वकै सबैभन्दा ठूलो भिक्टोरिया क्रस पदक संग्रह समेत रहेको छ। हाल उनी व्यवसाय, लेखन, परोपकार र जनमत सर्वेक्षणका क्षेत्रमा सक्रिय छन्। चुनाव नजिकिँदै गर्दा नेपालमा लर्ड एशक्रफ्टको आगमनले उनको भ्रमणको उद्देश्य र सम्भावित गतिविधिप्रति विभिन्न कोणबाट चासो बढाएको छ।