काठमाडौं। नेपालले बैभन्दा धेरै ग्यास आयात गर्ने इन्डियन आयल कर्पोरेसन (आईओसी) को बरौनी रिफाइनरी मर्मत गर्न थालिएपछि नेपालमा ग्यास अभाव देखिएको छ। बरौनी रिफाइनरी मर्मतका क्रममा कोटाअनुसार ग्यास लोड हुन नसकेपछि नेपाली बजारमा अभाव देखिएको नेपाल आयल निगमले जानकारी दिएको हो।
निगमले बरौनी, मथुरा, पारादीप र दुर्गापुर रिफाइनरीबाट ग्यास आयात गर्दै आएको छ। तीमध्ये मथुरा रिफाइनरीबाट भने नियमित रूपमा कोटाअनुसार ग्यास आइरहेको छ। तर, बरौनी रिफाइनरीमा पुरानो प्लान्टका कारण बारम्बार मर्मत गरिँदा बेलाबेला ग्यास लोड हुन नसकेको निगमको जिकिर छ।
अहिले बरौनीबाट सीमित मात्रामा ग्यास आएकाले बजार अभाव देखिएको नेपाल एलपी ग्यास उद्योग संघ अध्यक्ष दिवान चन्दले बताए। ‘पारादीप र दुर्गापुर रिफाइनरीबाट पनि अपेक्षाभन्दा कम आपूर्ति भइरहेको छ,’ उनले भने।
जाडोयाममा भारतमै ग्यास खपत बढ्ने र त्यहाँको आन्तरिक माग पूरा गरेपछि मात्र नेपालमा आपूर्ति गर्ने भए पनि अहिले रिफाइनरी मर्मत गर्न थालेपछि अभाव देखिएको उनको भनाइ छ।
जाडो महिनामा विशेषगरी काठमाडौं उपत्यकामा ग्यास खपत सामान्य समयको तुलनामा २०–२५ प्रतिशतसम्म बढ्ने गर्दछ। नेपालमा प्रतिमहिना करिब ४७–४८ हजार मेट्रिक टन ग्यास आवश्यक पर्नेमा चालू महिनामा आयात ४२–४३ हजार मेट्रिक टनमा सीमित हुने अनुमान छ। रिफाइनरी मर्मतका कारण चार–पाँच हजार मेट्रिक टनसम्म ग्यास कम आयात हुँदा बजारमा अभाव देखिएको चन्दले बताए।
बरौनीबाट ग्यास नपाउँदा पारादीप (उडिसा)लगायत लामो दूरीका रिफाइनरीसम्म गाडी पठाउनुपर्ने अवस्था आउँदा ढुवानी साधन अभाव देखिएको उनले जनाए। पछिल्लो डेढ सातादेखि डिलरले पनि मागअनुसार आपूर्ति गर्न नसकिँदा अभाव देखिएको बताइरहेको उपभोक्ताको गुनासो छ।