काठमाडौं। खाद्यान्न, एफएमसीजी र औद्योगिक वस्तुहरूको आयात तथा ट्रेडिङमा सक्रिय एस.जी. नेपाल प्रा.लिले ६ महिनामै एक अर्ब बढीको व्यापार गरेको छ। कम्पनीले सन् २०२६ को पहिलो ६ महिनामा १ अर्ब १८ करोड रुपैयाँ बढीको व्यापार (कुल आम्दानी) गरेको हो।
रेटिङ एजेन्सी इन्फोमेरिक्सले सार्वजनिक गरेको क्रेडिट रेटिङ रिपोर्टअनुसार कम्पनीको आम्दानीमा पछिल्ला वर्षमा उत्साहजनक फड्को देखिएको छ। कम्पनीले गत वर्ष २०२५ मा कुल २ अर्ब ६ करोड ९० लाख, सन् २०२४ को १ अर्ब ९२ करोड ४० लाख र सन् २०२३ मा १ अर्ब ९९ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो। रिपोर्टअनुसार आर्थिक वर्ष २०२१ देखि २०२५ सम्मको अवधिमा कम्पनीको व्यापार वार्षिक औसत ३९ प्रतिशतले बढिरहेको छ।
कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि गराएको क्रेडिट रेटिङमा कुल ९३ करोड ५७ लाख रुपैयाँको कर्जा सीमा निर्धारण गरिएको छ। यसमध्ये १९ करोड ७ लाख रुपैयाँ बराबरको दीर्घकालीन ऋणका लागि डबल बी प्लस र ७४ करोड ५० लाख रुपैयाँ बराबरको अल्पकालीन ऋणका लागि ए फोर प्लस रेटिङ प्रदान गरिएको छ।
सन् २०१३ देखि सञ्चालनमा रहेको एस.जी. नेपाल, नेपालको स्थापित व्यावसायिक घराना ‘सरावगी ग्रुप’ अन्तरगतको कम्पनी हो। कम्पनीको नेतृत्व प्रबन्ध निर्देशक अजय कुमार सरावगीले गरिरहेका छन्। जोसँग यस क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभव छ। कम्पनीमा उनको सेयर स्वामित्व २२.५ प्रतिशत छ। कम्पनीको आधिकारिक कार्यालय पर्साको वीरगञ्जमा रहेको छ।
कम्पनी आयातमा आधारित भएकाले वैदेशिक मुद्राको विनिमय दरमा हुने उतारचढावले यसको नाफामा सीधा असर पार्न सक्छ।
कम्पनीले आफ्नै दर्ता भएका ब्रान्डहरू- म्याक्सी चोको, म्याक्सी पान र म्याक्सी प्रिमियममार्फत नेपाली बजारमा उपस्थिति छ। साथै, यसले औद्योगिक उत्पादन, बेकरी सामान र एफएमसीजी वस्तुहरूको ट्रेडिङ गर्दै आएको छ भने अन्तर्राष्ट्रिय ब्रान्ड कार्गिलका उत्पादनहरू पनि आपूर्ति गर्दछ।
कम्पनीको सञ्चालन मुनाफामा पनि सुधार देखिएको छ। सन् २०२४ मा ५.३३ प्रतिशत रहेको सञ्चालन मुनाफा सन् २०२५ मा बढेर ७.६४ प्रतिशत र सन् २०२६ को ६ महिनामा ८.९६ प्रतिशत पुगेको छ। राम्रो सञ्चालन प्रदर्शन र तुलनात्मक रूपमा न्यून ब्याज खर्चका कारण कम्पनीको नाफा बढेको रिपोर्टमा उल्लेख छ।
उक्त अवधिमा कम्पनीको ऋण तिर्न सक्ने क्षमता २.०३ गुणा रहेको छ। यद्यपि, कम्पनीको पुँजी संरचनामा अझै ऋणको भार उच्च देखिन्छ। सन् २०२६ को मध्य-जनवरी सम्ममा कम्पनीको ऋण स्वपूँजी अनुपात ३.२७ गुणा रहेको छ।
एस.जी. नेपालका सामु केही व्यावसायिक चुनौतीहरू पनि रहेका छन्। यो व्यवसाय वर्किङ क्यापिटल इन्टेन्सिभ प्रकृतिको छ। बजारमा उधारो संकलन अवधि ११७ दिन रहेको छ। जसका कारण कार्यशील पुँजीको चक्र सुस्त छ। कम्पनीको व्यापारको झण्डै ४७ प्रतिशत हिस्सा कार्यशील पुँजीमै खर्च हुने गरेको छ।
कम्पनी आयातमा आधारित भएकाले वैदेशिक मुद्राको विनिमय दरमा हुने उतारचढावले यसको नाफामा सीधा असर पार्न सक्छ। कम्पनीले आफ्नो कूल खरिदको ५० देखि ५३ प्रतिशत हिस्सा भारत, चीन, मलेसिया र बेल्जियमबाट आयात गर्छ। साथै, अन्तर्राष्ट्रिय बजारमा वस्तुको मूल्यमा हुने परिवर्तन र आन्तरिक बजारको तीव्र प्रतिस्पर्धालाई पनि जोखिमको रुपमा हेरिएको छ।
रिपोर्टका अनुसार एस.जी. नेपालले आगामी दिनमा आफ्नो व्यापारको आकार बढाउँदै ऋणको भार घटाउनु मुख्य प्राथमिकता रहने छ। स्थापित ब्रान्ड र अनुभवी व्यवस्थापन टोली हुनु कम्पनीका लागि सबल पक्ष हुन्।
आगामी दिनमा उधारो संकलन प्रक्रियालाई चुस्त बनाउँदै र कार्यशील पुँजीको कुशल व्यवस्थापन गर्दै अघि बढ्नु कम्पनीका लागि फलदायी हुने देखिन्छ।