काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न साधारण सभालाई लक्षित गर्दै नेतृत्व चयन प्रक्रिया तीव्र बनेसँगै महासंघभित्र चुनावी माहोल तातिएको छ। यही चैतमा हुने साधारण सभाबाट वरिष्ठ उपाध्यक्षसहित नयाँ कार्य समिति चयन हुने भएकाले अहिले उम्मेदवार मतदातासँग पुग्ने, भेटघाट गर्ने र समर्थन जुटाउने गतिविधि व्यापक रुपमा बढेका छन्।
महासंघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्ने निश्चित छ। त्यसैले यस पटकको प्रतिस्पर्धा विशेष गरी वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदमा केन्द्रित भएको देखिन्छ। वरिष्ठ उपाध्यक्ष पदका लागि रामचन्द्र संघई, हेमराज ढकाल र दिलसुन्दर श्रेष्ठबीच प्रतिस्पर्धा हुने चर्चा चलिरहेको छ।
यस्तै, विभिन्न समूह र क्षेत्रबाट उपाध्यक्ष तथा केन्द्रीय सदस्य पदका लागि पनि उम्मेदवारी घोषणा र आन्तरिक लबिङ तीव्र बनेको छ। यसैबीच पछिल्लो समय महासंघको निर्वाचन प्रक्रिया अत्यधिक खर्चिलो र भड्किलो बन्दै गएको भन्दै महासंघका पूर्वपदाधिकारीले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले चुनावी प्रतिस्पर्धाले संस्थाको गरिमा घटाउने र निजी क्षेत्रको छविमा नकारात्मक प्रभाव पार्ने तर्क गर्दै सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिन थालेका हुन्।
वस्तुगत तर्फका उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरेले आयोजना गरेको ‘परिवर्तित जनादेशको परिप्रेक्ष्यमा अर्थतन्त्रको दिशानिर्देश र निजी क्षेत्रको भूमिका’ विषयक कार्यक्रममा यस्तो धारणा सार्वजनिक रुपमा अघि सारिएको हो। उक्त कार्यक्रममा वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालसहित महासंघका पूर्वअध्यक्षहरू भवानी राणा, प्रदीपकुमार श्रेष्ठ र कुशकुमार जोशीले एक स्वरमा सर्वसम्मतिको आवश्यकता औँल्याएका थिए।
उनीहरूले महासंघ जस्तो प्रतिष्ठित संस्थामा अत्यधिक प्रतिस्पर्धात्मक र खर्चालु चुनाव हुनु उपयुक्त नभएको उल्लेख गर्दै सम्भव भएसम्म सबै पक्षबीच सहमति कायम गरी नेतृत्व चयन गर्नुपर्नेमा जोड दिइएका थिए। 'भड्किलो चुनावको प्रवृत्तिलाई रोक्न अब सर्वसम्मतिको अभ्यास गर्नुपर्छ,' भन्ने धारणा कार्यक्रममा प्रमुख रुपमा उठाइएको थियो।
अहिले सरकार दुईतिहाईको बन्न लागेको अवस्थामा महासघमा सर्वसम्मति गरेर निजी क्षेत्र एक रहेको सन्देश दिँदै अर्थतन्त्र सुधारमा सहकार्य गरेर काम गर्नुपर्ने बेला आएको जनाएको छ।
तर, अर्कोतर्फ उम्मेदवारहरूको सक्रियता र प्रतिस्पर्धात्मक तयारी हेर्दा सर्वसम्मति सहज नहुने संकेत पनि देखिएका छन्। उम्मेदवारहरू आ-आफ्नो पक्षमा समर्थन जुटाउन व्यस्त छन् भने विभिन्न समूहगत समीकरणहरू पनि बलियो बन्दै गएका छन्।
यद्यपि, महासंघभित्र अन्तिम समयमा सहमति खोज्ने परम्परा समेत रहेकोले केही पदमा सहमति हुने सम्भावनालाई भने नकार्न सकिँदैन। विशेष गरी वरिष्ठ उपाध्यक्षजस्तो महत्वपूर्ण पदमा आपसी समझदारी कायम गर्ने प्रयास हुन सक्ने आंकलन गरिएको छ।