नेपालगञ्ज। जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको छ। एक साताअघिदेखि अध्यागमन कार्यालय, जमुनाहले तेस्रो मुलुकका नागरिकका लागि आगमन र प्रस्थान पूृर्ण रुपमा सञ्चालन गरेपछि पर्यटकलाई आवतजावत गर्न सहज भएको अध्यागमन कार्यालय, जमुनाह, बाँकेले जनाएको छ।
अध्यागमन कार्यालय, जमुनाहकी प्रमुख दुर्गा वलीले आगमन र प्रस्थान सुरु भएसँगै दुई जना तेस्रो मुलुकका पर्यटक भारत हुँदै गएको जानकारी दिए। करिब ६ वर्षको अवधिमा आगमन र प्रस्थान जमुनाहबाट सुरु भएको उनको भनाइ छ।
“जमुनाह नाकाबाट आवतजावत गर्ने कुनै पनि पर्यटकलाई असहज हुने अवस्था रहन्न, हामीले दिने सबै सेवा सुरु गरेका छौँ,” उनले भने। नेपाल हुँदै भारत जाने र भारत हुँदै नेपाल आउनका लागि जमुनाह नाकाबाट निर्वाध आवतजावत गर्न मिल्ने उल्लेख गर्दै वलीले यसबाट पर्यटनका क्षेत्रमा नेपालले लाभ लिनसक्ने बताए।
उनले भने, “यो नाकाबाट आवतजावत हुने भए पछि यहाँका होटेल चलायमान हुन्छन् र त्यसबाट आर्थिक कारोबार पनि बढ्न सक्छ।”
वलीले तेस्रो मुलुकबाट जमुनाह नाका हुँदै आउने पर्यटक बाँके र बर्दियाका पर्यकटीयस्थलसम्म पुग्नसक्ने र त्यसबाट राजस्व सङ्कलन बढ्ने विश्वास व्यक्त गरे।
भारतीय पत्रकार एसके मधेसीयाले नाकाबाट हुने आवजावतले दुवै देशलाई लाभ हुने उल्लेख गर्दै भारत हुँदै जाने तेस्रो मुलुकका पर्यटकले सिधै नेपालका पर्यटकीय क्षेत्रको अवलोकन गर्न पाउने बताए।