काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) गठन गर्दा पोखराबाट साधारण सदस्य बनेका प्रकाशदेव पालिखे १७ वर्षपछि त्यसको नेतृत्व सम्हाल्न आइपुगेका छन् ।
मंगलबार भिडियो कन्फ्रेन्सबाट गरिएको १६ औं वार्षिक साधारणसभाबाट पालिखे एनवाईइफको केन्द्रीय अध्यक्ष भएका हुन् । पालिखेसँग एनवाईइएफमा बसेर काम गरेको लामो अनुभव छ । सोही अनुभवलाई उनले व्यावहारिक रुपमा उतार्ने योजना पनि बनाएका छन् । यस अघि निकोलश पाण्डे अध्यक्ष थिए । उनको कार्यकाल सकिएपछि पालिखे नयाँ अध्यक्ष बनेका हुन् ।
आफ्नै बलबुताबाट स्वरोजगार बनेका युवा व्यवसायीको जमात हो– एनवाईइएफ । कोरोना महामारीबाट सबैभन्दा थलिएको क्षेत्र पनि यही हो । यो क्षेत्रलाई माथि उकास्न र थप सशक्त बनाउनुपर्ने पालिखेमाथि ठूलो चुनौती छ ।
पालिखेले पोखराबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका हुन् । पालिखे टेडर्स प्रालिमार्फत उनको व्यावसायिक यात्रा सुरु भएको हो । पालिखे टेडर्सले युनिलिभिर नेपाल, नेस्लेलगायतका आधा दर्जन कम्पनीको सामान बेचिरहेको छ । पालिखे ट्रेडर्स आधिरकारिक रुपमा नेस्लेको आयात गरेर बेचिरहेको छ ।
बैंकबाट ऋण लिएर व्यवसाय गर्नेलाई सरकार तथा केन्द्रीय बैंकले पनि केही राहत दिइसकेको छ भने केही राहत दिने तयारी गरेको छ । त्यस्ता युवा उद्योगीलाई केही राहत मिल्ने सम्भावना पनि छ । तर, बैंकबाट ऋण नलिइ व्यवसाय गरेकालाई जोगाइराख्न पालिखेले ठूलो भूमिका निर्वाह गर्नुपर्ने देखिएको छ ।
पालिखे साना तथा मझौला उद्योगीको भावना भित्र पर्छन् । उनकै सदस्यहरु पनि अहिलेको महामारीबाट उठ्नै नसक्ने गरी थल्लिएका छन् । त्यस्ता व्यवसायीलाई पुनर्जीवित बनाउनु अहिलको मुख्य चुनौती भएको उनीको बुझाइ छ ।
‘एकातिर आफ्नो अघि चुनौती जति छ, त्यति नै अवसर पनि छ,’ उनले क्यापिटल नेपालसँग भने, दुवैलाई लिएर अघि बढ्छु ।’
देशको अर्थतन्त्रमा साना तथा मझौला उद्योगीको हिस्सा धेरै छ । तर, कोरोना भाइरसको जोखिमले त्यस्ता व्यवसायी बढी जोखिममा परेकाले अहिले सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
‘नेपालका युवा उद्यमीहरु जोखिम मोल्न सक्छन् । तर, अहिले परक प्रकृतिको जोखिम आइलागेको छ । यसबाट सरकारले पार लगाइदिए, अन्य ठुल्ठूला जोखिम उठाउन युवा व्यवसायी तयार छ ।’
साधारण सभाले चयन गरेको नयाँ कार्यसमितिको नामावली र पद
प्रकाश देव पालिखे, अध्यक्ष
निकोलस पाण्डे, निवर्तमान अध्यक्ष
उदीप श्रेष्ठ, प्रथम उपाध्यक्ष
ऋतेश लामिछाने, द्वितीय उपाध्यक्ष
निविता प्रधान, महिला उपाध्यक्ष
सुमोद सैजु, उपाध्यक्ष( उपाध्यक्ष शाखा समन्वय
पवित्र गौतम, सदस्य
सहारा जोशी, सदस्य
कुशल श्रेष्ठ, सदस्य
सुदिप घिमिरे, सदस्य
ऋचा श्रेष्ठ, सदस्य