काठमाडौं। नेपालमै पहिलो पटक आयोजना गरिएको दाल–भात खाने प्रतियोगिताको उपाधि आयुश रिसालले जितेका छन। मोनालिसा थकालीद्वारा आयोजित उक्त प्रतियोगितामा आयुशले १५ मिनेटमा सबैभन्दा धेरै दाल–भात खाएर प्रथम स्थान हासिल गरेका हुन्।
प्रतियोगितामा २७ सय ग्राम दाल–भात दिइएको थियो, जसमा आयुशले १५ मिनेटमा १२३६ ग्राम खाएका थिए। त्यसैगरी, अशोक न्यौपानेले ७३६ ग्राम खाएर दोस्रो स्थान र सरोज देसारले ७०४ ग्राम खाएर तेस्रो स्थान हासिल गरे।
पहिलो हुने विजेताले १५ हजार नगद, दुईजनालाई काठमाडौं ‑पोखरा‑पोखरा‑ काठमाडौंको हवाई टिकट, पोखराको लक्जरी होटलमा दुईरात बसाइँ र मुस्ताङको लक्जरी रिसोर्ट लज थासाङ भिलेजमा दुई रात बसाइँको सुविधा पाएका छन्।
यस्तै दोस्रो हुनेलाई ५ हजार नगद, मोनालिसा फुड भौचर, डल्ले मोमोको फु भौचर र होटल म्याजेस्टिक लेक फ्रन्ट स्वीट्स पोखरामा बसाइँको अवसर पाएका छन्। यस्तै तेस्रो हुनेले ३ हजार नगद सहित मोनालिसा फुड भौचर र डल्ले मोमोको फडुभौचर प्राप्त गरेका छन्।
१३० जना सहभागीमध्ये आयुश रिसाल, अशोक न्यौपाने, सरोज देसार, आर्यन थापा, स्वेकर हमाल, अरुण कुनुवार, आयुश्मा महत, अशिम राई, प्रशुन अधिकारी र रोजन तामाङ टप टेनमा पर्न सफल भएका थिए।
विजेता रिसालले आफू आउनुअघि नै जित्ने आत्मविश्वास रहेको बताए।
उनले भने, ‘म कहिल्यै स्कुलबाट टुर जान पाइनँ, तर भात खाएर पोखरा–मुस्ताङ जान पाएँ। मलाई सबैले ‘भाते’ भन्थे, आज भात खाएर नै देशकै नम्बर वान भाते भएँ। एक हप्ता मासु नखाई तयारी गरेको थिएँ, अब गएर मासु–भात खान्छु।’
नेपालीहरुको टिपिकल खाना दाल भातलाई विश्वबजारमा प्रचार गर्ने र थकाली खानाको महत्व बुझाउने उद्धेश्यका साथ नेपालमै पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको मोनालिसा थकाली नक्सालका सञ्चालक विजयबाबु शेरचनको भनाइ छ। विदेशमा बर्गर सहित विभिन्न परिकारको प्रतिस्पर्धा हुने गरेको बताउदै नेपालमा पनि टिपिकल खाना दालभातलाई प्रतिस्पर्धा गराएको उनले बताए। धेरै भात खादा समस्या हुन्छ भन्ने भ्रमलाई चिर्न सबै थोक मिलाएर खाए स्वाथ्यमा कुनै समस्या हुँदैन भन्ने सन्देश समेत आफुले दिन खोजेको उनको भनाइ छ।
मोनालिसा थकालीकी कार्यकारी निर्देशक निर्मला ओलीले पहिलो पटक नेपाली खानालाई प्रतियोगितामार्फत प्रस्तुत गर्न पाउँदा गर्व महसुस भएको बताइन्। उनले भनिन्, ‘हामी नेपाली खानालाई प्रतियोगितामा लैजाँदै विश्वभर चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौं। आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिनेछौं।’
आयोजकका अनुसार एक हप्तासम्म चलेको प्रतियोगितापछि १३० जना सहभागीमध्ये १० जना फाइनलका लागि छनोट भएका थिए। प्रतियोगितामा सहभागी हुन थकाली खानाको मूल्य बराबर ५०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको थियो।