काठमाडौं। बेलायती राजनीतिज्ञ, अन्तर्राष्ट्रिय व्यवसायी, खर्बपति तथा विश्वप्रसिद्ध जनमत सर्वेक्षक लर्ड एशक्रफ्ट पोखरामा तीनदिन बसेर आइतबार सिंगापुर प्रस्थान गरेका छन्। निजी विमान (प्राइभेट जेट) मार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका लर्ड एशक्रफ्टले तीन दिनको बसाइँ पूर्ण रुपमा बिट्रिस क्याम्पमा बिताएका छन्।
शुक्रबार दिउँसो भने गोर्खा म्यूजियममा १ घण्टा ३० मिनेट समय बिताए। म्यूजियमका अध्यक्ष क्याप्टेन कर्णबहादुर थापाले लर्ड एशक्रफ्टले गोर्खा म्यूजियम भ्रमण गरेको पुष्टि गरे। ‘उहाँ करिब डेढ घण्टा म्यूजियममा बस्नु भयो, गोर्खालीहरुको विरताको बारेमा जानकारी लिनुभयो,’ अध्यक्ष थापाले भने ‘गोर्खालीले कमाएको बहादुरी तक्माको बारेमा धेरै नै चासो राख्नुभयो।’
गोर्खा म्यूजियमको तर्फबाट त्यहाँको बारेमा ब्रिफिङ गर्दै उनलाई उपहार समेत दिइएको थियो। ब्रिफिङको क्रममा खर्बपति एवम् राजनीतिज्ञ लर्ड एशक्रफ्टले नेपालीको बहादुरीको बारेमा बढी नै चासो दिएर सुनेका थिए। ‘उहाँले नेपालीको बहादुरीको बारेमा धेरै चासो लिएर सुन्नु भयो र म्यूजियमको सुक्ष्म अवलोकन गर्नुभयो,’ अध्यक्ष थापाले भने,‘उहाँको भ्रमणले हामी नै खुसी भएका छौं।’
पोखरा भ्रमणमा आएका लर्ड एशक्रफ्टले अन्य व्यक्तिहरुसँग भने भेट गरेनन्। निजी जहाजमार्फत विमानस्थलमा अवतरण गरेका लर्ड एशक्रफ्ट सिधै ब्रिटिस क्याम्पमा पुगेका थिए। उनले शुक्रबार विहानै माच्छापुच्छ्रे हिमालको फोटो राख्दै गुड मर्निङ नेपाल भनेका थिए।

उनको भ्रमण तालिका भने गोप्य नै राखिएको छ। उनी किन नेपाल आएको र को कसलाई भेटे भन्ने जानकारी पुरै गोप्य राखिए पनि उनले आफ्नो टुइटरमार्फत माच्छापुच्छ्रे हिमाल र गोर्खा म्यूजियम भ्रमणमा गएको भन्ने जानकारी भने गराएका छन्। त्यसबाहेक उनले पोखराको कुनै पनि ठाउँमा पुगेको पुष्टि गरेका छैनन्।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले खर्बपति लर्ड एशक्रफ्टको भ्रमणले विश्वभर नेपालको प्रचार भएको जानकारी दिए। ‘उहाँको भ्रमणले पोखरा सहित नेपालको प्रचार विश्वभर भएको छ,’ पूर्वअध्यक्ष श्रेष्ठले भने, ‘यो सुखद पक्ष हो, ’अझ उहाँले माच्छापुच्छ्रे हिमालको फोटो टुइटरमा हाल्नु पर्यटन प्रचारको लागि सकरात्मक हो।’
को हुन लर्ड एशक्रफ्ट?
लर्ड एशक्रफ्ट बेलायतको कन्जरभेटिभ पार्टीका पूर्वउपाध्यक्ष तथा कोषाध्यक्ष, अन्तर्राष्ट्रिय लोकतन्त्र संघका मानार्थ अध्यक्ष तथा प्रिभी काउन्सिलका सदस्य हुन्। सन्डे टाइम्स रिच लिस्ट २०२१ अनुसार माइकल एशक्रफ्ट बेलायतका १३२औँ धनी व्यक्ति थिए। जसको अनुमानित सम्पत्ति करिब १ अर्ब २५ करोड ७० लाख पाउन्ड थियो।
उनी राजनीति केन्द्रित उच्चस्तरीय जनमत सर्वेक्षणका लागि विश्वभर परिचित छन्। उनले स्थापना गरेको लर्ड एशक्रफ्ट पोल्सले बेलायतसहित विभिन्न देशका चुनाव, मतदाताको धारणा र राजनीतिक नेतृत्वबारे नियमित सर्वेक्षण सार्वजनिक गर्दै आएको छ, जुन नीति निर्माण र राजनीतिक विश्लेषणमा व्यापक रूपमा प्रयोग हुने गरेको छ।

व्यवसायिक क्षेत्रमा लर्ड एशक्रफ्टका सुरक्षा सेवा, वित्तीय सेवा, प्रविधि र लगानी क्षेत्रमा विश्वव्यापी व्यापारिक संलग्नता रहेको छ। साथै, उनी शिक्षा, स्वास्थ्य, अपराध नियन्त्रण, सैनिक कल्याण र वन्यजन्तु संरक्षण क्षेत्रमा करोडौं पाउन्ड दान गर्ने परोपकारी व्यक्तित्वका रूपमा पनि चिनिन्छन्।
बहादुरीप्रति विशेष रुचिका कारण उनीसँग विश्वकै सबैभन्दा ठूलो भिक्टोरिया क्रस पदक संग्रह समेत रहेको छ। हाल उनी व्यवसाय, लेखन, परोपकार र जनमत सर्वेक्षणका क्षेत्रमा सक्रिय छन्। चुनाव नजिकिँदै गर्दा नेपालमा लर्ड एशक्रफ्टको आगमनले उनको भ्रमणको उद्देश्य र सम्भावित गतिविधिप्रति विभिन्न कोणबाट चासो बढाएको छ।
साढे २ बजे सिंगापुर फर्किए
सिंगापुरबाटै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका लर्ड एशक्रफ्ट आइतबार २ः३० बजे पुनः उतै फर्किएका छन्। ‘उहाँ २ः३० बजे सिंगापुर प्रस्थान गर्नुभयो,’ विमानस्थलका एक उच्च अधिकारीले भने, ‘त्यसबाहेक अरु केहि जानकारी छैन।’