काठमाडाैं। इरानका शीर्ष सुरक्षा अधिकारीले शनिबार अमेरिकासँग भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। यद्यपि, इरानी सेना प्रमुख आमिर हटामीले अमेरिकालाई कुनै पनि प्रकारको सैन्य आक्रमण नगर्न कडा चेतावनी दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई देशबीच संवाद जारी रहेको पुष्टि गरे। तर, उनले अमेरिकी नौसैनिक जहाजहरू इरानको तट नजिक तैनाथ गरिएको उल्लेख गर्दै सैन्य तनाव पूर्ण रूपमा हटिनसकेको संकेत गरे।
इरानी राष्ट्रपति मसूद पेझेष्कियनले इरानले कहिल्यै युद्धको खोजी नगरेको स्पष्ट पार्दै युद्ध दुवै देश र सम्पूर्ण क्षेत्रका लागि हानिकारक हुने बताए। इजिप्टका राष्ट्रपतिसँगको टेलिफोन वार्तामा उहाँले जनहितलाई केन्द्रमा राख्दै शान्तिपूर्ण समाधानतर्फ अघि बढ्न सरकारलाई आग्रह गरे।
यसैबीच, कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले शनिबार तेहरानमा इरानी अधिकारीहरूसँग भेटवार्ता गर्दै क्षेत्रीय तनाव न्यूनिकरणका लागि कूटनीतिक पहल गरेका छन्।
इरानी सेना प्रमुख हटामीले चेतावनी दिँदै भने,“यदि शत्रुपक्षले कुनै भूल गर्यो भने त्यसले आफ्नै सुरक्षा, क्षेत्रीय स्थिरता तथा इजरायलको सुरक्षामाथि गम्भीर खतरा निम्त्याउनेछ।” उनले इरानी सेना पूर्ण सतर्कता र उच्च तयारी अवस्थामा रहेको पनि बताए।
यसैबीच, इरानमा बढ्दो जीवनयापन खर्चविरुद्ध जनवरीमा भएका प्रदर्शनहरू हिंसात्मक बनेका थिए। सरकारी तथ्यांकअनुसार ती घटनामा तीन हजार ११७ जनाको मृत्यु भएको छ भने मानवअधिकार संस्थाहरूले मृत्यु संख्या ६ हजार ५६३ पुगेको दाबी गरेका छन्।