काठमाडौं । बन्दबन्दी (लकडाउन) का कारण बन्द रहेका उद्योगहरु आंशिक रुपमा सञ्चालनमा आउन थालेका छन् । काठमाडौं उपत्यकाको बालाजु औद्योगिक क्षेत्र र ललितपुरको पाटन औद्योगिक क्षेत्र भित्र रहेका अधिकांश उद्योगहहरु आंशिक रुपमा सञ्चालनमा आएका छन् ।
सबै कामदार उपस्थित हुन नसक्ने र कच्चा पदार्थको अभाव भएका कारण अझै पनि सञ्चालन गर्न समस्या रहेको उद्योगीहरुले बताएका छन् ।
लकडाउनका कारण सबै उद्योग बन्द हुँदा अर्थतन्त्रमा असर परेको भन्दै सरकारले गत वैशाख २८ गतेदेखि ४२ प्रकारका उद्योगहरुलाई एक तिहाई श्रमिक राखेर सञ्चालन गर्न अनुमति दिएको हो ।
टाढाबाट आउनु पर्ने र उपत्यका बाहिर रहेका श्रमिकहरु उपस्थित नहुँदा उद्योगहरु पूर्ण सञ्चालनमा आउन सकेका छैनन् । यस्तै उद्योग सञ्चालनका लागि कच्चा पदार्थको अभाव, उत्पादित वस्तुको वितरण एवम ढुवानीमा समस्या आउने गरेको उद्योगीहरुले बताएका छन् ।
उपत्यकाको बालाजु औद्योगिक क्षेत्रमा ८१ ओटा र पाटन औद्योगिक क्षेत्रमा ९५ वटा उद्योग सञ्चालनमा आएका छन् । उद्योग सञ्चालन गरिए पनि कर्मचारीहरु आउन नसक्दा पूर्ण रुपमा सञ्चालन गर्न नसकिएको बालाजु औद्योगिक क्षेत्रमा रहेको पोलिथिन एण्ड प्लाष्टिक उद्योग प्रालिका प्रबन्ध निर्देशक प्रमोद घिमिरेले बताए । उनले लकडाउनमा काम नभएपछि आफ्नो घर गएका श्रमिकहरु आउन नसकेको जानकारी गराए ।
विस्कुट उत्पादन गर्ने कम्पनी नेबिको प्राइभेट लिमिटेडका महाप्रबन्धक केशब भट्टराइले लकडाउन सुरु भएको एक महिनापछि आंशिक रुपमा उद्योग सञ्चालन गरिएको बताए । उनले उद्योगको नजिक रहेका श्रमिकहरुलाई बोलाई काम सुरु गरिएको जानकारी दिए । अहिले पनि सबै सबै श्रमिकहरु काममा फर्कन नसक्दा पूर्ण रुपमा उद्योग सञ्चालन गर्न नसकिएको भट्टराईको भनाई छ । उनले दैनिक रुपमा श्रमिकहरुको स्वास्थ्य परीक्षण गरी काममा लगाइएको जानकारी दिए ।
निजी क्षेत्रका उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा आउन नसके पनि सरकारी लगानीको दुग्ध विकास संस्थानको ‘काठमाडौं दुग्ध वितरण आयोजना’ भने सञ्चालनमा आएको छ । आयोजना प्रमुख तीर्थकुमार महर्जनले लकडाउनमा पनि दुध उत्पादनमा कुनै कमि नआएको जानकारी दिए ।
उद्योगमा काम गर्ने प्राविधिक जनशक्तिको अभाव हुन नदिएको र प्रशासनिक क्षेत्रमा पालैपालो गरी कर्मचारीहरु आउने व्यवस्था मिलाइएको उनले बताए । अहिले पनि दैनिक ७५ देखि ७६ हजार प्याकेट दुध उत्पादन भइराखेको प्रबन्धक महर्जनले जनाए ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका कायम मुकायम क्षेत्र व्यवस्थापक भोजराज विनाडीले औद्योगिक क्षेत्र भित्र सञ्चालनमा रहेका उद्योगहरुको नियमित अनुगमन गर्ने गरिएको बताए । उनले औद्योगिक क्षेत्र भित्र सञ्चालित उद्योगहरुमा कोरोना भाइरस संक्रमणको सावधानी अपनाइएको उल्लेख गरे ।
अहिले सम्म ८१ वटा उद्योगहरु आंशिक रुपमा सञ्चालन भएका छन । उद्योगमा उत्पादन भएका वस्तुहरुलाई बजारसम्म पुर्याउन ढुवानीका लागि टाइम कार्डका कारण समस्या भएको उनीहरुको गुनासो छ ।
पाटन औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका केही उद्योगले भने श्रमिकलाई उद्योगमै बस्ने व्यवस्था मिलाई सञ्चालन गरेको पाइएको छ । पूर्ण वुड कभरिङ इन्ड्रस्टिजका सञ्चालक किरण स्थापितले श्रमिकहरुलाई उद्योग मै खाने र बस्ने व्यवस्था मिलाएर आंशिक रुपमा उद्योग सञ्चालन गरिएको जानकारी दिए । सबै श्रमिकहरु उद्योगसम्म आउन कठिन भएकाले उद्योगलाई पूर्ण ?पमा सञ्चालन गर्न नसकिएको उनको भनाई छ ।
पाटन औद्योगिक क्षेत्रका प्रशासनिक अधिकृत प्रदीप पराजुलीले लकडाउन कायम हुँदा पनि सात ओटा उद्योगहरु सञ्चालनमा आइरहेको जानकारी दिए । आइतबारदेखि ९५ वटा उद्योगहरु आंशिक रुपमा सञ्चालनमा आएका छन । बालाजु औद्योगिक क्षेत्रमा भित्र १३१ उद्योगहरु छन । यस्तै पाटन औद्योगिक क्षेत्रमा १२१ उद्योगहरु रहेका छन् ।