काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेजले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले चालू आवको दोस्रो त्रैमासिक अवधिमा खुद नाफा ९९ प्रतिशतले वृद्धि गरेको छ।
दोस्रो त्रैमासिकमा खुद नाफा ९९.३३ प्रतिशत अर्थात् १३ करोड ४४ लाख रुपैयाँ पुगेको कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा ६ करोड ७४ लाख मात्र थियो।
त्यस्तै कम्पनीले कर्जा तथा अग्रिम पोर्टफोलियोसमेत दोब्बरभन्दा बढी विस्तार गरेको छ। वित्तीय विवरणअनुसार यस अवधिमा १० अर्ब ६४ करोड ८० लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा शतप्रतिशत बढीले वृद्धि भएको हो। ब्याज आम्दानी ४१ करोड ७७ लाख रुपैयाँ अर्थात २२०.०७ प्रतिशतले बढेको हो।
लागत नियन्त्रण र जोखिम व्यवस्थापनमा सुधार गर्दै सञ्चालन नाफालाई २१ करोड ९९ लाखसम्म पुर्याएको वित्तीय विवरणमा उल्लेख छ। नन–पर्फर्मिङ लोन अनुपात ४.६८ प्रतिशतबाट घटेर ३.०५ प्रतिशतमा झरेको छ।
यसले सम्पत्तिको गुणस्तरमा पनि कम्पनीले सुधार भएको देखाएको छ। कम्पनीले भनेको छ, ‘विगतभन्दा सुधारिएको रिकभरी प्रक्रिया र क्रेडिट अनुगमन प्रणाली महत्वपूर्ण भूमिका खेलेको छ, प्रमुख वित्तीय सूचकांकहरूमा पनि सकारात्मक सुधार आएको देखिएको छ।’
प्रतिसेयर आम्दानी ३२.३९ रुपैयाँ, इक्विटी प्रतिफल १६.५६ प्रतिशत र नेटवर्थ प्रतिसेयर खुद सम्पत्ति मूल्य १९५.६२ रुपैयाँ पुगेको छ।