काठमाडौं। पछिल्लो समय नेपाली युवा दलालको जालमा फसेर दुबईबाट थाइल्यान्ड र म्यानमारको सीमावर्ती क्षेत्रमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ केन्द्रमा पुग्ने क्रम तीव्र रूपमा बढेको छ। पर्यटकीय भिसामा दुबई पुगेका युवालाई दलालहरूले मोटो रकमको प्रलोभन देखाएर गैरकानुनी काममा लगाइरहेको खुलासा भएपछि यो विषय नेपालका लागि निकै चिन्ताको विषय बनेको छ।
म्यानमारस्थित नेपाली दूतावासले यो विषयलाई गम्भीर रूपमा लिँदै युवालाई सचेत गराउन ट्राभल एडभाइजरीसमेत जारी गरिसकेको छ। तर, विभिन्न प्रलोभनमा परेर युवा त्यहाँ पुग्ने क्रम भने निरन्तर जारी छ। गैरकानुनी रुपमा म्यानमार र थाइल्यान्ड पुगेका नेपाली युवाले निकै दुःख व्यहोरिरहेका छन्।
श्रम स्वीकृति बिना पर्यटकीय भिसामा दुबई पुगेका नेपाली युवाहरू केही दिन त्यहाँ घुमफिर गरेर स्थानीय दलालहरूसँग सम्पर्कमा आउने गरेको पाइएको छ। दलालहरूले युवालाई थाइल्यान्ड र म्यानमारको सीमावर्ती क्षेत्रमा डेटा इन्ट्रीको काम छ भनी मासिक एक हजारदेखि १५ सय अमेरिकी डलरसम्मको तलब दिने प्रलोभन देखाउँछन्।
दुबईमा दुई-चार दिन बसेर दलालसँग मिलेपछि युवाहरू थाइल्यान्ड र म्यानमार लगिने गरेको म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले क्यापिटल नेपाललाई बताएका छन्। विशेषगरी श्रम स्वीकृति नलिई पर्यटकीय भिसामा जाने युवा बढी प्रभावित हुने गरेको उनले बताए।
अनलाइन विज्ञापनमार्फत डेटा इन्ट्रीको रोजगारी भनेर झुटा प्रलोभन देखाइए पनि वास्तवमा यी युवालाई टेलिकम ठगी र अनलाइन जुवा जस्ता गैरकानुनी काममा लगाइन्छ। त्यहाँ पुगेपछि उनीहरूलाई बन्धक बनाएर काममा लगाउने गरिएको दूतावासले जनाएको छ।
गैरकानुनी रुपमा म्यानमार र थाइल्यान्ड पुगेका नेपाली युवाले निकै दुःख व्यहोरिरहेका छन्।
म्यानमारस्थित नेपाली दूतावासका अनुसार भारत, चीन, इन्डोनेसिया, फिलिपिन्सलगायत विभिन्न देशका गरी ४५० जनाभन्दा बढी नागरिक अनलाइन स्क्यामिङमा संलग्न छन्। म्यानमार र थाइल्यान्डको सीमा क्षेत्रमा अवैध रुपमा सञ्चालनमा रहेको यस्ता केन्द्रमा चीनबाट १९४, भारतबाट २२ र नेपालबाट १८ जना काम गर्दै आएको दूतावासले उल्लेख गरेको छ।
गत केही दिनअघि म्यानमार सरकारले १८ जना नेपालीसहित ४९५ जना विदेशी नागरिकलाई एक वर्ष जेल सजाय सुनाएको छ। इमिग्रेसन इमर्जेन्सी प्रोभिजन एक्ट १९४७ अन्तर्गत सजाय सुनाइएको यो घटना पूर्व अभ्यासभन्दा पृथक रहेको दूतावासले जनाएकाे छ। यसअघि म्यानमारले यस्ता व्यक्तिलाई डिपोर्ट गर्दै आएको थियो। तर, अहिले जेल सजाय तोकिएको छ। जुन अकल्पनीय घटना भएको राजदूत घिमिरेले बताए।
गैरकानुनी रुपमा म्यानमार र थाइल्यान्ड पुगेका नेपाली युवाले निकै दुःख व्यहोरिरहेका छन्। बन्धक बनाइएका, खराब कामको अवस्था, तलब नदिइने र अहिले जेल सजायसमेत भोग्नुपर्ने अवस्था आएको छ। विगत लामो समयदेखि म्यानमार र थाइल्यान्डको सीमावर्ती क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्रमा संलग्न नेपालीलाई दूतावासले उद्धार गर्दै आएको छ। पछिल्लो ६ महिनामा मात्रै २०० जनाभन्दा बढीलाई उद्धार गरिएको छ। गत वर्ष पनि करिब २०० जना नेपाली युवालाई उद्धार गरिएको राजदूत घिमिरेले बताए।
नेपाली नागरिकलाई म्यानमार सरकारले जेल सजाय सुनाएपछि राजदूत घिमिरेले म्यानमारका परराष्ट्रमन्त्री तथा गृहमन्त्रीलाई इमेल र टेलिफोनमार्फत सम्पर्क गरेका छन्। उनीहरू निर्दोष छन् र उनीहरूलाई छुटाउन भरपूर प्रयास जारी रहेको घिमिरेले बताए। म्यानमारका मन्त्रीहरूले यस विषयमा गम्भीर रहेको बुझेर जानकारी गराउने प्रतिबद्धता जनाएको र विस्तृत जानकारीका लागि सम्बन्धित अधिकारीसँग औपचारिक संवाद गर्न समय लिएको राजदूतले जानकारी दिए।
सरकार र सम्बन्धित निकायले यस विषयमा थप सचेतना अभियान र कडा कारबाही गर्नुपर्ने देखिन्छ।
दूतावासले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा कन्सुलर विभागलाई यस विषयमा जानकारी गराइसकेको छ। थाइल्यान्ड सीमानजिक रहेको म्यानमारको फाइनमा १८ जनालाई जेलमा राखिएको विषय सम्बन्धित निकायलाई जानकारी गराइएको घिमिरेले बताए। विभिन्न प्रलोभनमा परेर यहाँ चुनौती सामना गरिरहेका युवालाई सहजीकरण तथा उद्धार गर्दै आएको र आफ्ना नागरिकलाई उद्धार तथा सहयोग गर्न आफ्नो जिम्मेवारीबाट विमुख नभएको राजदूत घिमिरेले बताए।
म्यानमारमा मात्र होइन, यस्ता अवैध स्क्यामिङ केन्द्रविरुद्ध अन्य देशले पनि कडा कारबाही गरिरहेका छन्। गत केही दिनअघि चीनले म्यानमारमा अवैध स्क्याम सञ्जाल सञ्चालन गर्ने मिङ परिवारका ११ सदस्यलाई मृत्युदण्ड दिएको छ। झेजियाङ प्रान्तको अदालतले उनीहरूलाई ठगी तथा जुवाघर सञ्चालन जस्ता गम्भीर अपराधमा दोषी ठहर गर्दै गत सेप्टेम्बरमा सजाय सुनाएको बीबीसी मिडियालगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
राजदूत घिमिरेले ट्राभल एडभाइजरी जारी गरेर युवालाई सचेत गराउने प्रयास भइरहेको बताउँदै यस्ता प्रलोभनमा नपर्न आग्रह गरेका छन्। यो विषयले नेपालका लागि गम्भीर चुनौती खडा गरेको छ। श्रम स्वीकृति बिना विदेश जाने, विशेष गरी दलालको प्रलोभनमा पर्ने युवाले ठूलो खतरा मोल्नु परेको यो घटनाले देखाएको छ। सरकार र सम्बन्धित निकायले यस विषयमा थप सचेतना अभियान र कडा कारबाही गर्नुपर्ने देखिन्छ।