काठमाडौं। काम खोज्दै बिदेसिएका करिब ५० लाख नेपालीमध्ये १०० जनालाई फर्काएर उचित दाम र काम दिने वाचा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारको १०० बुँदे घाेषणाले फेल खाएको छ। बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि रोजगारी बढ्नुको साटो आर्थिक गतिविधि खुम्चिँदा अहिले पनि हजारौं नेपाली विदेश रोजगारीका लागि जान बाध्य छन्।
यद्यपि विदेश जानेको संख्या अघिल्लो वर्षभन्दा केही घटेको छ। याे संख्या घट्न्मा स्वदेशमा रोजगारी बढेर नभई नेपालीका श्रम गन्तव्य खाडी मुलुकका देशमा चलिरहेको युद्धका कारण श्रम स्वीकृति रोकिनु रहेको छ।
वैदेशिक रोजगार विभागका अनुसार आव २०८२/८३ मा विदेश रोजगारीका लागि सात लाख ९२ हजार १८७ जनाले श्रम स्वीकृति लिएका छन्। अघिल्लो आव २०८१/८२ मा विदेश जान श्रम स्वीकृति लिने आठ लाख ३९ हजार २६६ थिए। यो संख्या गत आवको तुलनामा अघिल्लो आवमा ४७ हजार ७९ जनाले कम हो।
गत आवमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमा ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला छन्। अघिल्लो आवको तुलनामा श्रम स्वीकृति लिने महिलाको संख्या भने झन्डै एक हजारले बढेको छ।
विभागको तथ्यांकअनुसार गएको आवमा चार लाख ८२ हजार ६४३ दक्ष भएर वैदेशिक रोजगारीमा गएका छन्। एक हजार ९६ जना उच्च सिप भएका व्यक्ति श्रम स्वीकृति लिएर विदेश गएका छन् भने तीन हजार ५७० व्यावसायिक व्यक्ति पनि बिदेसिएको विभागको विवरणमा उल्लेख छ। श्रम स्वीकृति लिएर बिदेसिनेमा अर्धदक्ष श्रमिक १ लाख १४ हजार ६१४ र १ लाख ९० हजार २६४ अदक्ष श्रमिक रहेका छन्।
विदेश जानेको संख्या अघिल्लो वर्षभन्दा केही घटेको छ। याे संख्या घट्न्मा स्वदेशमा रोजगारी बढेर नभई नेपालीका श्रम गन्तव्य खाडी मुलुकका देशमा चलिरहेको युद्धका कारण श्रम स्वीकृति रोकिनु रहेको छ।
वैदेशिक रोजगारीमा जानेको पहिलो रोजाइ संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ। आव २०८२÷८३ मा श्रम स्वीकृति लिएर सबैभन्दा धेरै नेपाली युएई गएका छन्।
विभागको तथ्यांकअनुसार पहिलो पटक जाने र बिदामा आएर फर्किने (पुनःस्वीकृति) तथ्यांक जोड्दा एक वर्षको अवधिमा एक लाख ८३ हजार ५८० जना युएई गएका छन्। युएईपछि मलेसिया, कतार र साउदी अरब क्रमशः दोस्रो, तेस्रो चौथो गन्तव्य बनेका छन्।
मलेसियामा एक लाख ३२ हजार ६४६ जना, कतारमा एक लाख ३२ हजार ५१ जना र साउदी अरबमा एक लाख २४ लाख ५८३ जना गएका छन्। कुवेत जानका लागि ४३ हजार ३६० जनाले श्रम स्वीकृति लिएका छन्।
खाडी मुलुकपछि युरोपेली देश रोमानिया रोजाइमा परेको छ। एक वर्षमा ३३ हजार ९२० जनाले रोमानिया जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ। रोमानियापछि जापानमा काम खोज्दै जानेको संख्या एक वर्षमा २२ हजार २६६ जना रहेको छ।
रोमानियासँगै साइप्रस, क्रोएसिया, टर्की, मौरिसस, माल्टा, पोर्चुगल, सर्बिया, बुल्गेरिया, ग्रिस, पोल्यान्ड, अस्ट्रियाजस्ता देशमा जाने नेपालीको संख्या पनि बढ्न थालेको छ।
एक वर्षको अवधिमा ११ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् भने क्रोएसियामा सात हजार ६६२, टर्कीमा ६ हजार ३७०, मरिसस रोजगारीका लागि ६ हजार ३३४ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ।