काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्रमाण पत्र (एओसी) नवीकरण भएसँगै सौर्य एयरलाइन्सले नियमित उडान गर्ने तयारी गरेको छ। एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले फागुन दोस्रो साताबाट नियमित उडान गर्ने गरी आवश्यक तयारी पूरा गरेको जानकारी दिए।
१८ महिनाअघि पोखरामा उडान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेपछि प्राधिकरणले एओसी रोक्का गरेको थियो। एयरलाइन्सले सबै प्रक्रिया पूरा गरेपछि नियमित उडानमा फर्किने तयारी गरेको उनले बताए।
‘मंगलबार नियमित उडानका लागि प्राधिकरणमा तालिका पेश गर्दै छौँ,’ बजार व्यवस्थापक खनालले भने, ‘झापाको भद्रपुर र विराटनगरमा दैनिक ३ उडान गर्ने हाम्रो तयारी छ।’
एयरलाइन्ससँग हाल दुई वटा जहाज उपलब्ध रहेको जनाएको छ। सौर्य एयरलाइन्स वैदेशिक लगानी भएको कम्पनी हो। विगत १८ महिनादेखि उडान अवरुद्ध हुँदा पनि कम्पनीले आफ्ना १०५ देखि १६५ जना कर्मचारीहरूको तलब, भत्ता र आवश्यक प्राविधिक ट्रेनिङहरू गरेको थियो। हाल नियमित रूपमा प्रदान गर्दै आएको जनाएको छ।
उनले अन्तर्राष्ट्रिय मापदण्डको दुर्घटनामा परेका सबै यात्रुहरुले नियमानुसारको बिमा रकम पाइसकेको जानकारी दिए। एयरलाइन्सले उडान अनुमति प्रमाणपत्र प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी २०८२ साउन ३० गते नै प्रतिबन्ध फुकुवा गरिसकेको जानकारी दिँदै तत्पश्चात टेस्ट फ्लाइटसमेत भइसकेको छ।
तर, सेफ्टी अडिटमा ६० प्रतिशतभन्दा कम प्राप्ताङ्क आएका कारण उडानमा प्रतिबन्ध मात्र लगाइएको अवस्था रहेको बताउँदै नेपाल सरकारद्वारा गठित हवाई दुर्घटना तथा जाँचबुझ आयोग र प्राधिकरणद्वारा एयरलाइन्स र अन्य एयरलाइन्सलाई समेत निर्देशित सम्पूर्ण सेफ्टीको अक्षरशः पालना साथै टेक्निकल सफ्टवेरसमेतको खरिद र जडान पश्चात सेफ्टी स्ट्याण्डर्डमा ६५ प्रतिशतभन्दा बढी अंक प्राप्त गरेपछि एओसी नवीकरण गर्न आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी मात्र नियामक निकायका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णबाट उडान अनुमति प्राप्त भएको जनाएको छ।