काठमाडौं। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वस्तुको आयात निर्यात दुवै बढेको छ। चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कुल वस्तुको निर्यात ४३.८ प्रतिशत र वस्तुको आयात १४.२ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
आर्थिक वर्ष २०८२/८३ को प्रथम ६ महिनामा कुल वस्तु निर्यात ४३.८ प्रतिशतले वृद्धि भई १ खर्ब ४२ अर्ब २ करोड पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा कच्चा भटमास तेल, अलैँची, पाम तेललगायतका वस्तुको निर्यात बढेको छ। जिङ्क सिट, पार्टिकल बोर्ड, हस्तकलाका सामानलगायतका वस्तुको निर्यात घटेको छ।
आर्थिक वर्ष २०८२/८३ को ६ महिनाको अवधिमाह कुल वस्तु आयात १४.२ प्रतिशतले वृद्धि भई ९ खर्ब ३९ अर्ब २ करोड पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल वस्तु आयात ७.१ प्रतिशतले वृद्धि भएको थियो।
वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, सुन, चाँदीलगायतका वस्तुको आयत बढेको छ। त्यस्तै, खाने तेल, लसुन, दाल, तेलहनलगायतका वस्तुको आयात घटेको छ।
आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा कुल वस्तु व्यापार घाटामा १०.१ प्रतिशतले वृद्धि भई ७ खर्ब ९७ अर्ब पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ४.४ प्रतिशतले वृद्धि भएको थियो।