काठमाडौं। नेपालको प्रमुख भन्सार तथा व्यापारिक प्रवेशद्वार आईसीडी (इनल्याण्ड कन्टेनर डिपो) वीरगञ्जमा रेलमार्गबाट आयात हुने मालसामानको ढुवानीमा विगत तीन महिनादेखि भइरहेको अस्वाभाविक ढिलाइले नेपाली उद्योग क्षेत्र संकटतर्फ धकेलिएका छन्। समयमै कच्चा पदार्थ नपाउँदा उद्योगहरू ठप्प हुने अवस्थामा पुग्दा समग्र राष्ट्रिय अर्थतन्त्रमा नै नकारात्मक प्रभाव पर्न थालेको छ।
भारतको कोलकाता र विशाखापट्टनम बन्दरगाहमार्फत आयात हुने मालसामान र्याकमा लोड गर्न नै अस्वाभाविक रूपमा लामो समय लाग्ने समस्या देखिएको छ। र्याकमा लोड भएर आईसीडी वीरगञ्जका लागि हिंडिसकेपछि पनि बीच बाटोमै कारणबिना धेरै दिनसम्म रोकिइरहने गरेको छ। कतिपय अवस्थामा रक्सौल–वीरगञ्ज नाका नजिकै आइपुगेपछि पनि लामो समयसम्म र्याकहरू अल्झिएको पाइएको छ।
यस्ता समस्याहरू विगत तीन महिनामा पटक–पटक दोहोरिएको देखिन्छ। कहिले भारतीय बन्दरगाहमा लोडिङमा ढिलाइ, कहिले मध्य बाटोमा र्याक रोकिने र कहिले सीमा नाका नजिकै पुगेर पनि सुख्खा बन्दरगाहमा प्रवेश गर्न नपाउने अवस्थाले व्यापारीहरूलाई चिन्तित बनाएको छ।
रेल ढुवानीमा भइरहेको यो ढिलाइ तथा अवरोधका कारण नेपालमा सञ्चालित उद्योगहरूले समयमै कच्चा पदार्थ ढुवानी गर्न नसक्दा उनीहरूको उत्पादन प्रक्रिया नै अवरुद्ध हुन पुगेको छ। कच्चा पदार्थ अभावमा उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा उनीहरूको उत्पादन लागत बढ्दै गएको छ, जसले गर्दा नेपाली उत्पादनहरूको प्रतिस्पर्धी क्षमतामा समेत गम्भीर असर परेको छ।
मालसामान समयमै नआउँदा बजार आपूर्तिमा अस्थिरता उत्पन्न भएको छ। आवश्यक कच्चा पदार्थ र तयारी सामानको समयमै आपूर्ति नहुँदा उपभोक्तामा समेत प्रत्यक्ष असर परिरहेको छ। यसले समग्र राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्दै आएको व्यवसायीहरूले बताएका छन्। विशेषगरी उत्पादनमुखी उद्योग, निर्माण क्षेत्र र औषधि उद्योगमा गम्भीर असर परेको छ।
सामान्य अवस्थामा कोलकाता बन्दरगाहमा लोड भइसकेको मालसामान सहितको र्याक आईसीडी वीरगञ्ज सुख्खा बन्दरगाहमा तीन–चार दिनभित्रै पुग्नुपर्ने हो भने विशाखापट्टनम बन्दरगाहबाट लोड भएको र्याक छ–सात दिनभित्रै पुग्नुपर्ने व्यवस्था छ। तर अहिले दोब्बर र कहिलेकाहीं तीन गुणासम्म समय लाग्ने गरेको छ। व्यापारीहरूले मालसामान पुग्न दुई–तीन हप्तासम्म पर्खनुपर्ने बाध्यकारी अवस्थाको सामना गरिरहेका छन्।
यस समस्याको दीर्घकालीन र प्रभावकारी समाधानका लागि भारत सरकारका सम्बन्धित निकायहरू, भारतीय रेल्वे विभागसँग उच्च तहमा समन्वय तथा पत्राचार गर्न माग गरिएको छ। नेपाल सरकारले कूटनीतिक च्यानलमार्फत यस विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने व्यापारी तथा उद्योगीहरूको आग्रह छ। रेल ढुवानी व्यवस्थालाई सहज, विश्वसनीय र नियमित बनाउन दुवै देशका सम्बन्धित निकायबीच प्रभावकारी संवाद र समन्वय अत्यावश्यक रहेको विज्ञहरूले बताएका छन्।
यस विषयमा समयमै पहल भएमा नेपालका व्यापारिक हित सुरक्षित हुनुका साथै आयात–निर्यात प्रणालीलाई सुदृढ बनाउन ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ। आईसीडी वीरगञ्ज नेपालको सबैभन्दा व्यस्त व्यापारिक प्रवेशद्वार हो। यहाँबाट हुने आयात–निर्यातमा कुनै पनि किसिमको अवरोधले नेपालको समग्र अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने भएकाले यस समस्याको तत्काल समाधान आवश्यक रहेको व्यवसायीहरूले जोड दिएका छन्।