काठमाडौं। भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा आगलागीले ध्वस्त बनाइएका काठमाडौं र ललितपुरका युलेन्स स्कुल पुनर्निर्माण करिब सकिएको र नयाँ नेतृत्वसहित विद्यालय सञ्चालनमा ल्याउन लागिएको व्यवस्थापनले जनाएको छ।
आगजनी, तोडफोड र लुटपाटमा युलेन्स एजुकेसन फाउन्डेसनका खुमलटारस्थित विद्यालयका ५ वटा भवन, बाँसबारीस्थित विद्यालयका ३ वटा भवन र काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टर ध्वस्त बनाइँदा १ अर्ब २५ करोड रुपैयाँ बराबरको भौतिक एवं मानसिक र सामाजिक प्रतिष्ठामा क्षति पुगेको फाउन्डेसनले स्मरण गरेको छ।
युलेन्स एजुकेशन फाउन्डेसनले विद्यालयमाथि गरिएको विध्वंसपछि विज्ञप्ति जारी गर्दै भनेको थियो, ‘स्कुलका भवन केवल भौतिक संरचना मात्रै थिएनन्। भदौ २४ मा युलेन्सको विद्यालय भवनमा होइन, युलेन्सको विस्तारित परिवारको आस्था, समर्पण र जीवनमा आगो दन्काइयो र खरानी बनाइयो।’
यस्तै, युलेन्स स्कुल ललितपुरमा भौतिक पुनर्निर्माणमा आंशिक तवरमा भए पनि सम्पन्न भई केही भवनमा भौतिक रुपमा कक्षा सञ्चालन गर्न सकिने अवस्थामा आएका छन् भने केही भवन पुनर्निर्माण प्रक्रिया निरन्तर जारी रहेको व्यवस्थापनको विज्ञप्तिमा उल्लेख छ।
जेनजी विध्वंसमा खरानी बनाइएका सवारी साधनलाई वातावरणमैत्री विद्युतीय बसद्वारा प्रतिस्थापन गर्दै आगामी शैक्षिक सत्रदेखि विद्यार्थीको परिवहन सुविधालाई व्यवस्थित गर्ने प्रक्रिया अगाडि बढाइएको पनि युलेन्स फाउन्डेसनले जनाएको छ।
युलेन्स एजुकेसन फाउन्डेसनको ‘बोर्ड अफ ट्रस्टिज’को नवनियुक्त सदस्यमा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. भोला थापा, नेपाल राष्ट्र बैंकमा तीन दशक बढी अनुभव सँगालेका वरिष्ठ वैंकिङ विज्ञ प्रद्युम्नकुमार खनाल र हाल युलेन्स स्कुलका अभिभावकसमेत रहेका डा. मनिष थापा रहेका छन्।
यस्तो छ विज्ञप्ति