काठमाडौं। जिल्ला प्रशासन कार्यालयले त्रिभुवन विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार एक सूचना जारी गर्दै विमानस्थल र त्यस आसपासका क्षेत्रमा कुनै पनि र्याली, जुलुश र भीडभाडका कार्यक्रम गर्न निषेध गरेको जानकारी दिएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी विज्ञप्तिमा कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला र नाराजुलुस नगर्न भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विमानस्थल क्षेत्रलाई संवेदनशील मान्दै शान्ति–सुरक्षा तथा आवागमन व्यवस्थापनलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको हो ।’
प्रशानसनले सरकार र सरकारसम्बद्ध निकायहरु निर्वाचनतर्फ परिचालित भएको स्थितिमा फागुन १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासको क्षेत्रमा केही प्रदर्शन, भेलाजम्मा र ऱ्यालीजस्ता गतिविधि गर्ने भनेर केही समूह तथा राजनीतिक दलबाट विज्ञप्ति र सामाजिक सञ्जालमा सूचना जारी भएको पाइएकाले त्यसबारे काठमाडौं प्रशासनमा कसैबाट पनि जानकारी गराउने वा पूर्वस्वीकृति लिने काम भने नभएको बताइएको छ ।
‘निर्वाचन आचार संहिता लागु भईसकेको हालको अवस्थामा यस्ता प्रकृतिका कार्यक्रम गर्न बन्देज रहेको तथा प्रकारका कार्यक्रममा निर्वाचन विरोधी भनिएका समूह समेतको घुसपैठ हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आसन्न निर्वाचनको सन्दर्भ, फागुन ३ गतेको महाशिवरात्रि पर्वको व्यवस्थापन, धार्मिक एवम् साँस्कृतिक आस्थाको सम्मान गर्दै उक्त पर्वलाई भव्य रुपमा सम्पन्न गर्न, अन्तर्राष्ट्रिय विमानस्थल जस्तो अत्यन्त संवेदनशील स्थान र आसपासको क्षेत्र समेतको सुरक्षालाई मध्यनजर गर्दै, विमानस्थलसम्म आवतजावत गर्ने यात्रुहरूको सहज आवागमनलाई सुनिश्चित गर्न, विमानस्थल आसपासका क्षेत्र एवम् सार्वजनिक सडक मार्गमा यातायात सञ्चालन तथा आम सर्वसाधारणको निर्वाध आवतजावत गर्न पाउने हक संकुचन हुने गरी कुनै प्रकारको जुलुस, प्रदर्शन, हडताल, -याली, भेलाजम्मा हुने जस्ता कार्यहरू नगर्न, नगराउन, सामाजिक सञ्जालका माध्यमबाट यस प्रकारका कार्यहरूलाई प्रेरित गर्ने वा उक्साउने जस्ता गतिविधि नगर्न, नगराउन जानकारी गराइएको छ,’ विज्ञप्तिमा भनिएको छ।