काठमाडौं। एमाले नेतृ एवं राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीबाट नेपालबाहिर रहेका नेपालीलाई लक्षित गरी व्यक्त अभिव्यक्तिप्रति गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले आपत्ति जनाएको छ।
सरकारको पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले देशबाहिर रहेका सबै नेपालीको मानमर्दन गरेको ठहर गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको छ। सांसद झाँक्रीले केही दिनअघि विदेशमा बसेर डलर कमाउने र सुखसयलमा रहेका नेपालीले नेपालको राजनीतिमा आँखा लगाउन नहुने भन्दै कटाक्ष गरेकी थिइन्।
गैरआवासीय नेपाली नेपालको विकास र समृद्धिको सहयात्री रहँदै आएको अवस्थामा नीति नियम तर्जुमा गर्ने निकाय राष्ट्रिय सभा सदस्यबाटै यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको ठम्याइ संघको छ।
‘गैरआवासीय नेपाली नागरिकताको व्यवस्थाबीच पर्याप्त ऐन, नियम र नियमावली अभावले व्यावहारिक समस्या देखा परिरहेको सन्दर्भमा नीति नियम बनाउने राष्ट्रिय सभाकै सदस्यको यस्तो अभिव्यक्ति आउनुले संशय झन् बढाएको छ । झाँक्रीको यस्तो आपत्तिजनक अभिव्यक्तिप्रति एमालेको पनि ध्यानाकर्षण गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ।
विश्वभर छरिएर बसेका गैरआवासीय नेपालीले नेपालको अर्थतन्त्र सुदृढीकरण, विकास निर्माण, आपतकालीन सहयोग, लगानी प्रवर्द्धन, रोजगारी सिर्जना तथा नेपालको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा निरन्तर, उल्लेखनीय र ऐतिहासिक योगदान दिँदै आएको तथ्यलाई स्मरण गर्न संघले झाँक्रीलाई सचेत गराएको छ।
सार्वजनिक पदमा आसीन व्यक्तिले गैरआवासीय नेपाली समुदायप्रति सम्मानजनक, जिम्मेवार तथा तथ्यमा आधारित धारणा व्यक्त गर्न पनि संघले आग्रह गरेको छ।
गैरआवासीय नेपाली समुदायको सम्मान, पहिचान तथा अधिकारविरुद्ध हुने कुनै पनि अभिव्यक्ति र गतिविधिको निरन्तर विरोध गरिने संघका प्रवक्ता सन्देश उप्रेतीले बताएका छन्।