ललितपुर। विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पाटन दरबार संग्रहालय अवलोकनका लागि अब घरमै बसेर अनलाइन टिकट बुकिङ गर्न सकिने भएको छ।
दरबार संग्रहालय प्रशासनले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गर्दै अनलाइन टिकट प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
पाटन दरबार संग्रहालय प्रमुख सुरेशमान लाखेले हाल अनलाइन टिकट बुकिङ प्रणाली परीक्षण चरणमा रहेको बताए। उनका अनुसार अहिले संग्रहालय परिसरमा रहेका दुईवटा काउन्टरमार्फत टिकट वितरण हुँदै आएको छ भने टिकट शुल्क क्यूआर कोडमार्फत भुक्तानी गर्ने व्यवस्था पहिले नै सुरु भइसकेको छ।
‘हालसम्म भौतिक काउन्टरबाट टिकट काट्नुपर्ने बाध्यता थियो’, प्रमुख लाखेले भने, ‘अब घरबाटै अनलाइन माध्यम प्रयोग गरी टिकट बुकिङ गर्न सकिने व्यवस्था गरेपछि पर्यटकका लागि अझ सहज हुनेछ। हामी यो प्रणाली छिट्टै औपचारिक रूपमा सुरु गर्ने तयारीमा छौँ, अहिले परीक्षण भइरहेको छ।’
अनलाइन टिकट प्रणाली सञ्चालनमा आएपछि लामो लाइनमा बस्नुपर्ने झन्झट हट्ने, समयको बचत हुने तथा पर्यटक व्यवस्थापन अझ प्रभावकारी हुने विश्वास सङ्ग्रहालय प्रशासनले लिएको छ। विशेषगरी पर्यटकको चाप बढी हुने सिजनमा यसले ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।
पाटन दरबार संग्रहालय सन् २०२५ मा तीन लाख १३ हजार ३०० पर्यटकले अवलोकन गरेका छन्। सार्क राष्ट्रका ४३ हजार ५३ पर्यटकसहित कुल एक लाख पाँच हजार ३०० विदेशी पर्यटकले संग्रहालय अवलोकन गरेका हुन्।