काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ माघ २९ सम्म सरकारको कुल राजस्व संकलन ६ खर्ब ६९ अर्ब ३२ करोड ९४ लाख रुपैयाँ पुगेको छ। यो रकम वार्षिक लक्ष्यको करिब ४५.२२ प्रतिशत हो। माघसम्मको लक्ष्यको ८२.२६ प्रतिशत हो।
अर्थ मन्त्रालयका अनुसार चालू आवका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य निर्धारण गरिएको छ । माघ मसान्तसम्म ८ खर्ब १३ अर्ब ६३ करोड १२ लाख रुपैयाँ लक्ष्य राखिएकामा ६ खर्ब ६९ अर्ब ३२ करोड ४९ लाख रुपैयाँ संकलन भएको हो।
आर्थिक वर्ष २०८२÷८३ माघसम्म ७ महिनामा ६ खर्ब ६९ अर्ब ३२ करोड राजस्व संकलन भएको विवरण अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ। माघसम्म ८ खर्ब १३ अर्ब ६३ करोडको लक्ष्य रहेकोमा ८२.२६ प्रतिशत संकलन भएको हो।
त्यस्तै, माघको लक्ष्य एक खर्ब २ अर्ब ४२ करोड रहेकोमा ८७ अर्ब ९२ करोड राजस्व संकलन भएको छ, जुन ८५.८४ प्रतिशत हो। अघिल्लो आर्थिक बर्षमा माघ महिनामा ८३ अर्ब ५१ करोड राजस्व संकलन भएको थियो।
आर्थिक वर्ष २०८२÷८३ को कुल राजस्व संकलन लक्ष्य १४ खर्ब ८० अर्ब रहेको छ भने ७ महिनामा ६ खर्ब ६९ अर्ब ३२ करोड संकलन भएको छ।
कर राजस्वतर्फ ५ खर्ब ९९ अर्ब ३१ करोड ४६ लाख रुपैयाँ संकलन भएको छ । यसमध्ये सबैभन्दा बढी योगदान आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क तथा भन्सार महसुलबाट आएको छ । आयकरबाट १ खर्ब ५८ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ, मूल्य अभिवृद्धि करबाट १ खर्ब ९६ अर्ब ४४ करोड १७ लाख रुपैयाँ र अन्तःशुल्कबाट १ खर्ब ५ अर्ब ४३ करोड ६० लाख रुपैयाँ राजस्व उठेको छ।
भन्सार विभागमार्फत २ खर्ब ७८ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ संकलन भएको छ, जुन वार्षिक लक्ष्यको ४७.३३ प्रतिशत हो। यस्तै आन्तरिक राजस्व विभागतर्फ ३ खर्ब २० अर्ब ८८ करोड ६५ लाख रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको ४३.५२ प्रतिशत हो।
गैरकर राजस्वतर्फ ६५ अर्ब ७१ करोड ३ लाख रुपैयाँ उठेको छ, जुन लक्ष्यको ४२.५५ प्रतिशत हो।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समग्र राजस्व संकलनमा करिब २.८३ प्रतिशतले वृद्धि भएको देखिएको छ।