काठमाडौं। प्रेमिल जोडीका लागि विशेष दिन ‘भ्यालेन्टाइन डे’को अवसरमा अन्नपूर्ण केबलकारले विशेष ‘कपल अफर’ ल्याएको छ। उक्त अफर फेब्रुअरी १४ का दिन मात्र लागू हुनेछ।
जसअन्तर्गत अग्रिम बुकिङ गर्ने जोडीले केबलकारमा बेलुन र फूलले सिँगारिएको प्राइभेट कपल केबिनमा यात्रा गर्ने अवसर पाउने छन्।
यसका साथै, केबलकारको यात्रालाई अविस्मरणीय बनाउन जोडीका लागि रोमाञ्चक वातावरणसहित केबिनभित्रै आधा पाउन्ड केक निःशुल्क उपलब्ध गराइने तथा केक काट्ने व्यवस्थासमेत गरिने अन्नपूर्ण केबलकारका जनरल म्यानेजर दिनेश पौडेलले बताए। फेब्रुअरी १४ को दिनलाई विशेष बनाउन १४ नम्बरकै केबलकारको क्याबिनमा अफर व्यवस्था गरिएको छ ।
अफर यत्तिमै सीमित छैन। उक्त अफरअन्तर्गत अतिरिक्त अतिथिका लागि १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। साथै, भाग्यशाली पाँच जोडीलाई डिनर कुपनका साथै होटलमा एक रात बसाईको निःशुल्क कुपन लक्की ड्रमार्फत प्रदान गरिने म्यानेजर पौडेलले बताए।
यसका लागि अन्नपूर्ण केवलकारको आधिकारिक फेसबुक पेजमा रहेको अफरसम्बन्धि भिडियो फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा अफर पोस्ट सेयर गर्नुपर्ने छ। सेयर गर्नेहरूमध्येबाट एक जनालाई छनोट गरी थप एक निःशुल्क डिनर कुपन पनि प्रदान गरिने बताइएको छ ।

अफरमा सहभागी हुन अग्रिम बुकिङ अनिवार्य गरिएको छ। इच्छुक सेवाग्राहीले केबलकारको आधिकारिक पेजमार्फत कल वा ह्वाट्सएपबाट सन्देश पठाई बुकिङ गर्न सक्नेछन्।
पोखराको नर्थ लेकसाइडस्थित सेती बगरबाट सुरु हुने अन्नपूर्ण केबलकारले करिब ९ मिनेटमै ८८२ मिटर उचाईको बटम स्टेसनबाट सराङकोटको करिब १५ सय मिटर उचाईमा पुऱ्याउँछ।
छोटो समयमै उचाई लिँदै जाँदा फेवाताल, तालबाराही मन्दिर, पोखरा सहर, नयाँ विमानस्थल, हर्पन खोलाको नागबेली दृश्य तथा आकाशमा उडिरहेका प्याराग्लाइडिङ अवलोकन गर्न सकिन्छ।
जंगल र गाउँ हुँदै जाने यात्राले प्राकृतिक र ग्रामीण अनुभव एकैसाथ दिन्छ। माथिल्लो स्टेसनबाट केही मिनेट पैदल हिँडेर सराङकोट भ्यु पोइन्ट, शिव मन्दिर तथा अन्नपूर्ण माछापुच्छ्रे हिमशृङ्खलाको मनमोहक दृश्य हेर्न सकिन्छ।
सूर्योदय र सूर्यास्तका लागि लोकप्रिय यो सेवा बिहानैदेखि सञ्चालन हुन्छ। लेकसाइडबाट निःशुल्क सटल बस सुविधा उपलब्ध छ। दुईतर्फी टिकट ७ सय र एकतर्फी टिकट ४ सय रुपैयाँ रहेको छ।