काठमाडौं। भारतको नागरिक उड्डयन नियामक निकायले एयर इन्डियामाथि करिब एक करोड भारतीय रुपैयाँ बराबरको जरिवाना लगाएको छ। यो कारबाही एयरबस ३२० निओ विमानलाई आवश्यक एयरवर्थनेस रिभ्यु सर्टिफिकेट(आर्क) बिना आठ वटा उडानमा प्रयोग गरेको पाइएको तथ्यका आधारमा गरिएको हो।
नोभेम्बर २४ देखि २५ सम्म एयरबस ३२० ले नयाँ दिल्ली, बेंगलुरु, मुम्बई र हैदराबादबीच आठ उडानहरू सञ्चालन गरेको थियो। गत डिसेम्बरमा रोयटर्सले सार्वजनिक गरेको एअर इन्डियाको आन्तरिक अनुसन्धानले पनि प्रणालीगत कमजोरीहरू पत्ता लगाएको थियो।
एयरलाइनले स्वीकार गरेअनुसार कम्पनीभित्र अनुपालन संस्कृति सुधार्न तुरुन्त कदम चाल्नुपर्ने आवश्यकता छ। फेब्रुअरी ५ मा भारतका अधिकारीले एयर इन्डियाका प्रमुख कार्यकारी अधिकारी क्याम्पबेल विल्सनलाई पठाएको पत्रमा भनेका छन्। यस घटनाले सार्वजनिक विश्वासमा थप गिरावट ल्याएको छ।
संस्थाको सुरक्षा अनुपालनलाई नकारात्मक असर पारेको विषय उल्लेख गरेको हिन्दुस्थान टाइम्सले जनाएको छ। विमानलाई आवश्यक ‘एयरवर्थनेस रिभ्यु सर्टिफिकेट (आर्क) बिना उडान भरेपछि सो एयरलाईन्सलाई तीस दिनभित्र १० मिलियन भारतीय रुपैयाँ बुझाउन भनिएको छ।
यस्तै, गत जुन महिनामा एयर इन्डियाको बोइङ विमान दुर्घटनामा परेर २ सय ६० जनाको मृत्यु हुँदा, यो कम्पनीको इतिहासकै सबैभन्दा ठूलो दुर्घटना बनेको थियो। एयरबस सम्बन्धी घटनाको आन्तरिक छानबिनले उडानमा संलग्न पाइलटहरूलाई पनि दोषी ठहर गरेको छ।
ती पाइलटहरूले उडानअघि प्रयोग हुने मानक सञ्चालन प्रक्रियाहरू पालना नगरेको बताइएको छ। भारतको टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त स्वामित्वमा रहेको एयर इन्डियालाई नियामक निकायले यसअघि पनि आपतकालीन उपकरण जाँच नगरी विमान चलाएको र अन्य लेखापरीक्षण त्रुटीका लागि चेतावनी दिइएको थियो।