मुम्बई। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल विश्वविजेता वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ।
लगातार तीन जितपछि वेस्ट इन्डिज सुपर एटमा पुग्ने पहिलो टिम बनेको छ। लगातार तीन हार बेहोरेको नेपाल समूह चरणबाट बाहिरिने दोस्रो टोली बनेको छ। नेपाल यसअघि इंग्ल्यान्ड र इटलीसँग पराजित भएको थियो।
समूह सीमा वेस्ट इन्डिजले अपराजित रहँदै ६ अंक जोडेर शीर्ष स्थानमा छ। नेपाल लगातार तीन हारपछि यस समूहमा अंकविहीन छ।
नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो। वेस्ट इन्डिजका लागि कप्तान शाई होपले ४४ बलमा ६१ रन बनाए। शिमरोन हेतमायरले ४६ रन बनाए। नेपालका लागि बलिङमा नन्दन यादवले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १३३ रन बनाएको थियो। नेपालले ब्याटिङमा कमजोर सुरुवात गरे पनि उपकप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतकमा हेर्न लायक स्कोर बनाएको थियो। नेपालका लागि उनले ४७ बल खेल्दै ३ चौका र ३ छक्का मदतमा सर्वाधिक ५८ रन बनाए।
जारी विश्वकपमा पहिलो खेल खेलिरहेका सोमपाल कामीले अविजित २६ रन बनाए। उनले १५ बल खेल्दै ४ चौका समेत प्रहार गरे।
यसबाहेक लोकेश बमले १३ र ओपनर आसिफ शेखले १० बल र गुल्सन झाले १३ बलमा समान ११ रन जोडे। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा वेस्ट इन्डिजका जेसन होल्डरले ४ तथा अकिल होसेन, म्याथ्यु फोर्डे, शमार जोसेफ र रोस्टन चेसले १-१ विकेट लिए।