काठमाडौं। नेपाल प्रहरीले विभिन्न जिल्लामा सञ्चालन गरेको विशेष अपरेसनका क्रममा ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै २० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ। मोरङको विराटनगर महानगरपालिका–५ पुलचोकस्थित सडकबाट गएराति करिब ४ सय २० किलोग्राम गाँजा बरामद गरिएको छ।
वडा प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरी टोलीले बा ८ च ६५०८ नम्बरको स्कार्पियो गाडीबाट उक्त गाँजा फेला पारेको हो। घटनापछि गाडी चालक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
यसैगरी, विराटनगर महानगरपालिका–९ तिलगंगाबाट चार किलोग्राम गाँजा सहित चितवन घर भएका ३६ वर्षीय लालबहादुर तामाङ पक्राउ परेका छन्। थप अनुसन्धानका क्रममा उनको डेराबाट थप चार किलोग्राम गाँजा बरामद गरिएको छ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२ गुर्जुधाराबाट प्रहरीले पाँच किलोग्राम गाँजा, दुई सय ५० ट्याब्लेट ट्रामाडोल र दुई लाख ६२ हजार छ सय ५० रुपैयाँ नगद सहित मकवानपुर घर भएकी ५६ वर्षीया संच माया तामाङलाई पक्राउ गरेको छ।
बारा जिल्लामा पनि लागूऔषध कारोबारमा संलग्नहरू पक्राउ परेका छन्। विश्रामपुर गाउँपालिका–३ बाट नौ सय ७० मिलिग्राम ब्राउनसुगर जस्तो पदार्थ सहित १८ वर्षीय किशोर पक्राउ परेका छन् भने जीतपुरसिमरा उपमहानगरपालिका–७ बाट सात सय ग्राम अफिम जस्तो पदार्थ सहित दुई जना पक्राउ परेका छन्।
कास्कीको पोखरा महानगरपालिका–९ नागढुङ्गाबाट पाँच ग्राम ब्राउनसुगर जस्तो पदार्थ सहित ३६ वर्षीय टोपबहादुर क्षेत्री पक्राउ परेका छन्। यस्तै, कैलालीको टीकापुर नगरपालिका–९ बाट नौ सय १० मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थ सहित २० वर्षीय सरोज तिरुवाल पक्राउ परेका छन्।
झापाको भद्रपुर नगरपालिका–८ बाट नौ ग्राम पाँच सय ८० मिलिग्राम ब्राउनसुगर जस्तो पदार्थ सहित पाँच जना पक्राउ परेका छन् भने एउटा मोटरसाइकल पनि बरामद गरिएको छ।
कञ्चनपुरको बेलौरी नगरपालिका–१० बाट एक ग्राम ४० मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थ सहित दुई जना पक्राउ परेका छन्। बाँकेको खजुरा गाउँपालिका–२ बाट पनि चार सय १० मिलिग्राम ब्राउनसुगर जस्तो पदार्थ सहित दुई जना पक्राउ परेका छन्।