काठमाडौं। केही वर्षयता युवाहरु रोजगारीका लागि विदेशमा जाने क्रम बढ्दो छ। मुलुकमा रोजगारीका लागि अवसर नपाएको र आम्दानी राम्रो नभएको भन्दै दैनिक हजारौँ संख्यामा युवाहरु विभिन्न मुलुकमा गइरहेका छन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा पनि मुलुकभित्र रोजगारीको सिर्जना भएको र युवाहरु लाखौँ रुपैयाँ खर्चेर विदेशमा जानु परेको पीडा पोखिएका थिए। आन्दोलनपछि प्रतिनिधिसभा विघटन भई अहिले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभाको निर्वाचन हुँदै छ।
फागुन २१ मा हुने निर्वाचनपछि बन्ने सरकारको काँधमा मुलुकभित्रै धेरैभन्दा धेरै युवाहरुलाई रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गरी बाध्यताले रोजगारीका लागि विदेश जानुपर्ने अवस्था हटाउनुपर्ने चुनौती थपिएको छ। यस्तो अवस्थामा एउटा विकल्पका रुपमा मुलुकभित्रै रोजगारी सिर्जना गर्न सक्नेमध्येको एक हो, स्टोरी टेलर।
होटल एसोसिएन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले धेरैभन्दा धेरै विदेशी पर्यटक नेपाल भित्र्याउने र उनीहरुलाई यहाँको धार्मिक स्थलबारे कथाको रुपमा जानकारी गराएर अतिरिक्त आम्दानी गराउने बाटो खुलाउन सक्ने जानकारी दिए। अहिले विश्व बजारमै स्टोरी टेलरको ट्रेण्ड बढिरहेकाले नेपालले त्यसबाट पाठ सिक्न आवश्यक रहेको उनले बताए।

हिमाल, ट्रेकिङ र साहसिक पर्यटन जति चर्चित छन्, त्यसभन्दा कम चर्चित भए पनि धार्मिक र सांस्कृतिक पर्यटन अहिले व्यवसायिक दृष्टिले लाभदायक क्षेत्रको रूपमा उदाउँदै गएको छ। यही क्षेत्रमा टुर गाइड व्यवसायले नयाँ आर्थिक अवसर खोलेको छ।
काठमाडौं म्यारियटका सञ्चालक शशीकान्त अग्रवालले विदेशीहरुले नेपालमा रहेका धार्मिक सम्पदाबारे धेरै चासोका साथ हेर्ने र सुन्ने गरे पनि त्यसलाई कथाको रुपमा प्रस्तुत गर्ने व्यक्तिहरुको अभाव रहेको बताउँछन्। ‘प्रत्येक धार्मिक स्थलको आआफ्नो महत्व छ’, सञ्चालक अग्रवालले भने, ‘ती स्थलबारे कथाको रुपमा प्रस्तुत गर्न सके रोजगारी सिर्जनासँगै पर्यटकको बसाइँ अवधिसमेत बढाउन सकिन्छ।’
कोर्रा टुर्स एन्ड ट्राभलर्सका अप्रेसन चिफ दीपक गुरौले धार्मिक टुर गाइडको लागि राम्रो सम्भावना रहेको बताउँछन्। भाषा जान्नेका लागि त एक सिजनमा ५ देखि ७ लाखसम्म आम्दानी गर्ने गरेको बताउँदै सरकारले आवश्यक नीति नबनाउदा केही समस्या हुने गरेको बताए।
हाल नेपालमा धार्मिक टुर गाइडलाई अलग वर्गीकरण नगरिएको भए पनि सिटी टुर गाइडले नै धार्मिक स्थलमा सेवा दिँदै आएका छन्।
नेपालमा धार्मिक स्थलका लागि अलग ‘धार्मिक टुर गाइड’ वर्ग छैन। सबै गाइडहरूलाई सिटी टुर गाइडकै रूपमा प्रमाणित गरिन्छ। तर वास्तविकतामा ती गाइडहरूले धार्मिक स्थल, तीर्थ र सांस्कृतिक सम्पदामा पर्यटकलाई मार्गदर्शन, कथा र जानकारी दिने काम गर्दछन्। यस अर्थमा उनीहरू नै धार्मिक टुर गाइड हुन्।
काठमाडौं उपत्यकामा लाइसेन्स प्राप्त अधिकांश टुर गाइड धार्मिक स्थलमा सेवा दिइरहेका छन्। स्वयम्भू, पशुपतिनाथ, बौद्धनाथ, पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायर जस्ता स्थलमा दैनिक रुपमा पर्यटकको आगमन हुने भएकाले गाइडहरूको माग स्थिर छ। तर, उपत्यकाबाहिर नयाँ वा उदीयमान धार्मिक गन्तव्यमा दक्ष गाइडको अभाव रहेको उनले बताए।
हाल नेपालमा धार्मिक टुर गाइडलाई अलग वर्गीकरण नगरिएको भए पनि सिटी टुर गाइडले नै धार्मिक स्थलमा सेवा दिँदै आएका छन्।
कसरी लिने तालिम?
टुर गाइड बन्न इच्छुकलाई नेपाल होटेल तथा पर्यटन प्रशिक्षण प्रतिष्ठान (नाथम)ले ७० दिने तालिम प्रदान गर्दछ। तालिममा इतिहास, संस्कृति, वास्तुकला, चिन्ह प्रतीक, कला र आतिथ्यका आधारभूत ज्ञान समावेश छन्। फिल्ड भ्रमणदेखि व्यावहारिक अभ्याससम्म सबै चरणमा प्रशिक्षण दिइन्छ। तालिम पूरा भएपछि गाइडलाई लाइसेन्स दिइन्छ, त्यसपछि मात्र उनीहरूले पर्यटकलाई सेवा दिन पाउँछन्।
लाइसेन्स प्राप्त गाइडले आफ्नो क्षेत्र रोज्छन्। काठमाडौंमा सांस्कृतिक र धार्मिक, पोखरामा प्राकृतिक, चितवनमा वन्यजन्तु, लुम्बिनी वा मुस्ताङमा धार्मिक तथा ऐतिहासिक टुर। यसरी गाइडिङ क्षेत्रमा क्षेत्रीय प्राथमिकता र विशेषज्ञता अनिवार्य हुन्छ।
विशेषगरी हिन्दी र अंग्रेजी दुवै भाषामा दक्ष गाइडको माग उच्च छ। भारतीय तीर्थयात्रीको ठूलो संख्याले यस प्रकारको गाइडिङलाई आवश्यक बनाउँछ। हाल अंग्रेजी गाइड पर्याप्त छन्। तर, हिन्दी भाषाको विशेषज्ञ गाइडको कमी महसुस गरिएको बताउँछन्।
हरेक वर्ष करिब २/३ सय नयाँ टुर गाइड उत्पादन भइरहेका छन्। तर कामका अवसर सिजनसँगै सीमित हुन्छ। कोभिड १९ का कारण पर्यटन क्षेत्रमा आएको संकटले स्थिति झन चुनौतीपूर्ण बनाएको छ। तथापि, धार्मिक पर्यटन विस्तारसँगै नयाँ रोजगारी र आयको स्रोत बनेको छ।