काठमाडौं । कोरोना संक्रमण फैलिन नदिने नाममा सरकारले थप कडाई गरेपछि केहि खुलेका उद्योग पनि धमाधम बन्द हुन थालेका छन् । जेनतेन कर्मचारी व्यवस्थापन र कच्चा पदार्थ जोहो गरेर खुलेका उद्योग पनि पछिल्लो सरकारी निर्णयका कारण धमाधम बन्द हुन पुगेको उद्योगीहरुले बताएका छन् ।
गृह मन्त्रालयले यस अघिका सम्पूर्ण पास रद्द गरे पछि कामदार तथा कच्चा पदार्थ बोकेका चालकहरु उद्योग परिसर भित्र पुग्न नपाएको र यसले उद्योग सञ्चालनमा कठिनाई उत्पन्न भएको उनीहरुको भनाई छ ।
कर्मचारी अभाव र कच्चा पदार्थको असहजताबीच खुलेका उद्योग पनि अहिले धमाधम बन्द हुन लागेको वीरगन्जका एक उद्योगीले बताए । ‘कति दुःख गरेर २० प्रतिशत क्षमतामा उद्योग चलाइएको थियो,’ ती उद्योगीले भने, ‘अहिले सरकारले कडाई गरेपछि खुलेका उद्योग पनि बन्द भइरहेका छन् ।’
सरकारले आर्थिक गतिविधि बढाउन उद्योग धन्दा खोल्ने निर्णय गरे पनि पछिल्लो निर्णयले पूर्ण रुपमा बन्द हुने भएका छन् ।
केही दिन अघिदेखि निर्माणजन्य आयोजनामा सिमेन्ट रडलगायतका सामग्री ढुवानी हुन थालेको थियो । तर, अहिले स्थानीय प्रशासन र स्थानीय तहले ट्रक लोड गर्न नै रोकेको भैरहवाका एक उद्योगीले बताए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग खोल्न दिने पक्षमा हुन्छ । तर, गृहमन्त्रालय मातहतका निकाय उद्योग खोल्ने वित्तिकै बन्द गर्न आइपुग्ने गरेको ती उद्योगीले बताए ।
उनले भने ‘उद्योगीले बल्ल बल्ल आफ्ना कर्मचारीलाई बुझाएर उद्योगसम्म ल्याएको थियो तर, स्थानिय प्रशासनले सहयोग गरेन ।’ अहिले कर्मचारीलाई बोलाउनै समस्या छ । यावत् कुरालाई व्यवस्थापन गरेर अघि बढ्दा पनि प्रहरीले उद्योग खोल्नै नदिने उद्योगीको गुनासो छ ।
सरकारले लकडाउन केही खुकुलो पारेपछि निर्माण जन्य उद्योग, खाद्य उद्योगलगायतका उद्योग आंशिक खुलेका थिए । अहिले फेरी बन्द हुँदै गएका छ ।
फेरी यसअघि लिएका सम्पूर्ण पास गृहले खारेज गरेको र नयाँ पास उद्योगले जारी गर्ने नियम बनाइएको छ । तर, उद्योग विभाग पास दिन आनाकानी गरिरहेको उद्योगी बताउँछन् । माथिबाट केही निर्देशन नआएको भन्दै विभाग पन्छिने गरेको उद्योगीहरुको गुनासो छ ।