काठमाडौं। अर्थ मन्त्रालयको खर्च प्रवृति निरन्तर ओरालो यात्रामा छ। विगत पाँच वर्षको तथ्यांक हेर्दा अर्थ मन्त्रालय आफैँले खर्च बढाउन सकेको छैन। आर्थिक वर्ष २०७८/७९ देखि चालू आवको २०८२/८३ सम्मको ६ महिनासम्म आइपुग्दा खर्चको निराशाजनक दृष्य देखिएको छ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार हरेक वर्ष बजेट बढाएर विनियोजन गर्ने तर खर्च निरन्तर घट्ने ट्रेन्ड समाएको छ। २०७८/७९ मा ३५ अर्ब ७१ करोड १६ लाख रुपैयाँ विनियोजन भएकोमा २० अर्ब ९६ करोड ३२ लाख रुपैयाँ बजेट खर्च भएको थियो। यो भनेको कुल विनियोजित रकमको ५८ दशमलव ७० प्रतिशत हो।
यस्तै, आर्थिक वर्ष २०७९/८० मा ३५ अर्ब १९ करोड ३ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा १२ अर्ब ४७ करोड ९९ लाख रुपैयाँ बजेट खर्च भएको थियो। यो भनेको कुल विनियोजित बजेटको ३५ दशमलव ४६ प्रतिशत मात्रै हो।
यसैगरी आर्थिक वर्ष २०८०/८१ मा ३४ अर्ब ६० करोड ३४ लाख रुपैयाँ बजेट विजियोजन भएकोमा १२ अर्ब ८१ करोड ७९ लाख रुपैयाँ बजेट खर्च भएको थियो। यो वर्ष ३७ दशलमलव ४ प्रतिशत मात्रै खर्च भएको हो।
गत आर्थिक वर्ष २०८१/८२ मा ३६ अर्ब ८० करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा २४ अर्ब ४० करोड ९ लाख रुपैयाँ बजेट खर्च भएको थियो। यो भनेको ४० दशमलव ९० प्रतिशत हो।
मन्त्रालयले चालू आवका लागि ३८ अर्ब ९९ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा १४ अर्ब ४ करोड १० लाख रुपैयाँ बजेट खर्च गरेको छ। यो अवधिमा ३६ दशलमलव १ प्रतिशत खर्च भएको तथ्यांकबाट देखिएको छ।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले विकासे मन्त्रालयको तुलनामा यस मन्त्रालयको बजेट खर्च कम रहेको बताउँछन्। बजेटको खर्च गर्न अझै पाँच महिना बाँकी रहेकाले खर्च बढाउने प्रक्रियाहरु अगाडि बढी सकेको उनको भनाइ थियो।
सरकारको पुँजीगत खर्च पनि सन्तोषजनक नरहेको उनले बताए। सबै मन्त्रालयले समयमै बजेट खर्च नगदिँदा बजेट कार्यान्वयन अवस्था राम्रो नदेखिने प्रवक्ता पाण्डेयको भनाइ छ।
मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को प्रगति पनि मन्त्रालयसँगै जोडिने भएकाले खर्च कम देखिएको हो। केही प्राविधिक समस्याका कारण एमसीसी फर्किने/नफर्किने नटुगिँदा काम अगाडि बढ्न नसकेको बताउँदै प्रवक्ता पाण्डेयले अहिले एमसीसीको काम दू्रत गतिमा अघि बढेकाले आर्थिक वर्षको अन्त्यसम्म अर्थ मन्त्रालयको पुँजीगत खर्च बढ्न सक्ने बताए।
प्रवक्ता पाण्डेयका अनुसार एमसीसीको काम अघि बढेसँगै भुक्क्तानीको काम पनि सँग-सँगै हुँदा खर्च पनि बढ्ने छ।