काठमाडौं। पाइलटलाई दोषी देखाउँदै सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको प्रतिवेदन सार्वजनिक भएको छ। २०८० वैशाख २२ गते संखुवासभाको मकालु वरुण क्षेत्रमा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाइलटको लापरबाहीका कारणले हेलिकोप्टर दुर्घटना भएको उल्लेख गरेको हो।
दुर्घटनामा संलग्न ९एन–एजेजेड दर्ता नम्बरको एएस ३५० बी थ्री ई हेलिकप्टर अपर अरुण जलविद्युत आयोजनाका लागि सामान ढुवानीमा खटिएको थियो। दुर्घटनाको दिन हेलिकप्टरले १६ वटा उडान पूरा गरिसकेको थियो।
१७औँ उडानका क्रममा सामान अनलोड तथा कर्मचारी ओराल्ने तयारी भइरहेको थियो। पूर्ण अवतरणका लागि उपयुक्त स्थान नपाएपछि पाइलटले ‘स्किड कन्ट्याक्ट पार्सियल होभर’ अवस्थामा हेलिकप्टर राख्ने निर्णय गरेका थिए।
प्रतिवेदनअनुसार, स्किड कन्ट्याक्ट पार्सियल होभर त्यस्तो अवस्था हो, जहाँ हेलिकप्टर पूर्ण रुपमा जमिनमा बसेको हुँदैन। तर, एउटा वा दुवै स्किडको केही भाग जमिनमा छोएको हुन्छ। यस्तो अवस्थामा हेलिकप्टर अझै उडान नियन्त्रणमै रहन्छ।
सन्तुलन कायम राख्न पाइलटको अत्यन्त सूक्ष्म र सन्तुलित नियन्त्रण आवश्यक पर्छ। आयोगको निष्कर्षमा, सामान र कर्मचारी ओराल्ने क्रममा भार सन्तुलन अचानक परिवर्तन हुँदा हेलिकप्टर बायाँ ढल्किन थालेको र त्यसलाई सच्याउने प्रयासमा पाइलटले साइक्लिक कन्ट्रोल अत्यधिक प्रयोग गरेको उल्लेख छ।
अधिक नियन्त्रणका कारण हेलिकप्टर थप अनियन्त्रित भई नजिकै रहेको ड्रिलिङ मेसिनको माथिल्लो भागमा मुख्य रोटर ठोक्किएको थियो। रोटर ठोक्किएपछि हेलिकप्टर करिब ८ फिट तल खसेर पल्टिएको प्रतिवेदनमा उल्लेख छ। दुर्घटनामा एक स्थानीय सहयोगीको घटनास्थलमै मृत्यु भएको थियो। पाइलट गम्भीर घाइते भएका थिए भने एक यात्रु सामान्य घाइते भएका थिए।
आयोगले दुर्घटनामा कुनै प्राविधिक खराबी, इन्जिन फेल वा मौसमको प्रतिकूल असर नभएको स्पष्ट पारेको छ। बरु, स्किड कन्ट्याक्ट पार्सियल होभर जस्तो जटिल अपरेसनका लागि स्पष्ट लिखित मापदण्ड ९क्इए० नहुनु र पाइलटलाई यससम्बन्धी विशेष तालिम नदिइनु संरचनागत कमजोरीका रूपमा औँल्याइएको छ।
प्रतिवेदनमा अर्को गम्भीर पक्ष पनि उल्लेख गरिएको छ—दुर्घटनामा मृत्यु भएका स्थानीय सहयोगीलाई हेलिकप्टर सञ्चालनसम्बन्धी कुनै औपचारिक तालिम वा सुरक्षा निर्देशन नदिइएको। स्लिङ अपरेसन र लोड अनलोड जस्ता उच्च जोखिमयुक्त कार्यमा तालिम नपाएका व्यक्तिको संलग्नता सुरक्षामापदण्ड विपरीत भएको आयोगको ठहर छ।
आयोगले आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन सबै हेलिकप्टर सञ्चालक कम्पनीहरूले स्किड कन्ट्याक्ट पार्सियल होभर लगायत विशेष अपरेसनका लागि स्पष्ट एसओपी तयार गरी नेपाल नागरिक उड्डयन प्राधिकरण बाट स्वीकृत गराउनुपर्ने सिफारिस गरेको छ।
साथै, स्लिङ अपरेसनका क्रममा पाइलटले केवल तालिमप्राप्त कर्मचारी मात्र संलग्न गराउनुपर्ने र प्राधिकरणले विशेष अपरेसनका लागि छुट्टै पाठ्यक्रम तथा निर्देशिका विकास गर्नुपर्ने उल्लेख गरिएको छ।