काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले कलबहादुर बस्नेत र अमित बस्नेतविरुद्ध रोजगारी प्रलोभन र नेपाली नागरिकलाई अमेरिका लैजाने धन्धा चलाएको आरोपमा करिब १ अर्बको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ।
दुईमध्ये कलबहादुर रुकुम पश्चिम र अमित रुकुम पूर्व सिस्ने गाउँपालिका ५ का स्थायी बासिन्दा हुन्।
दुई जनाले करिब साढे २०० नेपालीलाई अवैध बाटो भएर अमेरिका पुर्याएको र विभिन्न वैदेशिक रोजगारीका नाममा प्रलोभन दिएर ठगी गरिएको छानबिनका क्रममा फेला परेपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।
कलबहादुर यसअघि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा पुर्पक्षका लागि डिल्लीबजार कारागार कार्यालयमा थुनामा रहेका छन् भने सोही मुद्दामा अमित फरार छन्।
अनुसन्धानका क्रममा प्रतिवादीले करिब २५० जना नेपाली नागरिकलाई गैरकानुनी मार्ग प्रयोग गरी विभिन्न मुलुक हुँदै अमेरिका प्रवेश गराएको, केही व्यक्तिलाई अमेरिका लैजाने प्रलोभनमा पारेर विभिन्न देशमा अलपत्र पारेको तथा मानव बेचबिखन, ठगी र वैदेशिक रोजगार ठगीजस्ता कसुर गरेको खुलेको छ।
अवैध गतिविधिबाट आर्जित रकम नगद तथा विभिन्न बैंक खातामार्फत शुद्धीकरण गरिएको पाइएको छ। कलबहादुरको नाममा ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ ३३ पैसा र अमित बस्नेतको नाममा २७ करोड ४५ लाख २९ हजार ०२८ रुपैयाँ ९४ पैसा गरी जम्मा ९८ करोड ५ लाख ८२ हजार ७५१ रुपैयाँ २७ पैसा बराबरको बिगो कायम गरिएको छ।
सोही बिगो बराबरको दोब्बर जरिवाना तथा कसुरको गम्भीरताअनुसार दुईदेखि १५ वर्षसम्म कैद सजायको मागदाबी लिइएको छ।
प्रतिवादीको नाममा रहेका घरजग्गा, बैंक मौज्दात र बिमा रकमसमेत जफत गर्न अदालतसमक्ष माग गरिएको छ।