काठमाडौं। भरतपुर विमानस्थलमा बुधबारबाट हवाई इन्धन ‘रिफ्युलिङ’ सेवा सुरु भएको छ। त्रिभुवन विमानस्थलबाट दिउँसो १२ बजेको उडानमार्फत भरतपुर पुगेको बुद्ध एयरमा आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले इन्धन भरेर सेवा सुरु गरेका हुन्।
उक्त सेवा सुरु भएपछि भरतपुर–काठमाडौं रुटका विमानले दुईतर्फी उडानलाई पुग्ने इन्धन बोक्नुपर्ने बाध्यता हटेको छ। काठमाडौं–भरतपुर रुटमा नियमित रूपले खचाखच यात्रु हुने भए पनि दुईतर्फी उडान भर्न तेल बोकेर जानुपर्ने हुँदा बुद्ध एयरले प्रत्येक उडानमा ४–५ सिट खाली राखेर तौल व्यवस्थापन गर्दै आएको थियो। तर, अब भरतपुरमै इन्धन भर्ने सुविधा भएपछि सबै सिटमा यात्रु राखेर उडान भर्न मिल्ने भएको छ।
सेवा सुरु गर्दै निगमका कार्यकारी निर्देशक भट्टले निर्वाचनका वेला हवाई यात्रुको संख्या बढेकाले लाभ हुने बताए। ‘भरतपुर विमानस्थलबाटै इन्धन रिफ्युलिङ थालिएपछि अब खाली सिट राखेर उडान भनुपर्ने बाध्यता हटेको छ। यसमा निर्वाचनको बढ्दो चहलपहलका कारण हवाईमार्गबाट यात्रा गर्ने यात्रुलाई सहजता हुने अपेक्षा लिएका छौँ,’ उनले भने।
निर्वाचन आचारसंहिता लागेकै वेला भए पनि सेवा शुभारम्भ गरेर निगमले सामाजिक उत्तरदायित्व पूरा गरेको उनको भनाइ थियो।भरतपुर विमानस्थलमा दैनिक ३५ सय लिटरसम्म इन्धन खपत हुने अनुमान छ।
१ हजार लिटर क्षमताका दुईवटा रिफ्युलर र ६ हजार लिटर क्षमताको एउटा डिस्पेन्सरमार्फत सेवा थालिएको निगमको हवाई इन्धन कार्यालय, सिनामंगलका प्रमुख प्रदीप यादवले जानकारी दिए।
‘हवाई यात्रुहरूको सहजताका लागि आचारसंहिता लागेकै वेला भिडभाड नगरी सेवा विस्तार गरिएको छ,’ यादवले भने। भरतपुर विमानस्थलबाट इन्धन सेवा थाल्न निगमलाई नागरिक उड्डयन प्राधिकरण र बुद्ध एयरले ताकेता गर्दै आएका थिए।रासस