काठमाडौं। वार्षिक १२ अर्ब ५० करोड रुपैयाँ बराबरको पेट्रोल आयात घट्ने अनुमान सहित इथानोल मिसाउने मापदण्ड बनाउन नेपाल आयल निगम अगाडी बढेको छ। अहिलेको अवस्थामा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउदा वार्षिक आयातको साढे १२ अर्ब रुपैयाँको आयात घटाउन सक्ने ठहर निगमको छ।
पुस २१ गते बसेको मन्त्रीपरिषदको बैंठकले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने कार्यविधि स्वीकृत गरेसँगै आयल निगम आवश्यक मापदण्ड बनाउन लागेको कार्यकारी निर्देशक चन्डिकाप्रसाद भट्टले जानकारी दिए। नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना गरेको ‘नेपालमा इथानोल मिश्रण नीतिः अवसर, चुनौती र कार्यान्वयनको रणनीति’ विषयक कार्यक्रममा कार्यकारी निर्देशक भट्टले नेपाल गुणस्तर विभागसँगको सहकार्यमा मापदण्ड बनाउने तयारी अघि बढिसकेको जानकारी दिए।
‘लामो समयको प्रयासपछि अहिले काम अघि बढेको छ,’ कार्यकारी निर्देशक भट्टले भने, ‘अव हामी रोकिदैनौं, मापदण्ड तयार पारी मूल्य समायोजनको विषयमा पनि काम अगाडी बढ्ने छ।’ उद्योग मन्त्रालयका सहसचिव शिवराम पोखरेलले मन्त्रिपरिषद्ले गत पुसमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने निर्णय गरेको जानकारी दिँदै अवको एक साता भित्रमा इथानोल मिश्रणसम्बन्धी आदेश राजपत्रमा प्रकाशित हुने बताए। अव मन्त्रालयले दु्रत गतिमा काम गर्ने बताउदै नेपालको लागी नयाँ भएकोले केहि समय लागेको उनको भनाइ छ।
मूल्य समायोजन कसरी हुन्छ?
अहिलेकै बजार मूल्य अनुसार पेट्रोल भन्दा इथानोल महंगो हुन्छ। निगमले खरिद गर्दा पेट्रोल भन्दा केहि रकम सस्तोमा लिनुपर्ने बाध्यता भएकोले त्यसका लागि मूल्य निर्धारण कसरी हुन्छ भन्ने चासो पनि अहिले आम व्यवसायीहरुमा रहेको छ। निगमका कार्यकारी निर्देशक भट्टले मापदण्ड तयार पारेपछि कार्यविधि बनाउने र त्यसपछि निगम सञ्चालक समितिको बैंठक बसी मूल्य निर्धारण गर्ने जानकारी दिए।
निगम सञ्चालक समितिको अध्यक्ष उद्योग मन्त्री हुने व्यवस्था छ। सो बोर्डले मूल्य निर्धारण गरी महिनाको २ लाख लिटर भन्दा बढी इथानोल उपलब्ध गराउनका लागि सार्वजनिक सूचना जारी गर्ने र इच्छुक उद्योगहरुको प्रस्तावनाको आधारमा वार्षिक रुपमा सम्झौता गर्ने तयारी निगमले गरेको बताए। अहिलेको स्थीतिमा एक लिटर इथानोलको मूल्य १३० रुपैयाँसम्म पर्न आउछ। यो भनेको पेट्रोलको मूल्य सरहनै हुने भएकोले त्यसलाई केहि रकम सस्तो बनाउन सरकारले व्यवसायीलाई सहुलियतको प्याकेज दिनुपर्ने स्थीति समेत आउन सक्ने बताउछन्।
ढुक्क छैनन व्यवसायी
इथानोल मिसाउने प्रक्रिया अगाडी बढाउन मन्त्रीपरिषदले आदेश दिएपनि हालसम्म कार्यविधिनै नबनाएको भन्दै तत्कालको अवस्थामा ढुक्क हुने स्थीति नभएको चिनि उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालको भनाइ छ। २५ वर्ष अघि डा. रामशरण महत अर्थमन्त्री हुँदा १० प्रतिशत इथानोल मिसाउने विषय बजेटमा समावेश गरेपनि हालसम्म कार्यन्वयन नभएको बताउदै अहिले पनि पुसमा भएको आदेशपछि कार्यविधि समेत नबनेकोले अझै ढुक्क हुने अवस्था नभएको बताए।‘ सरकारले निर्णय गरेर अघि बढे काम गर्न हामी तयार छौं’, अध्यक्ष अग्रवालले भने, ‘सरकारको काम गराईको गति हेर्दा अहिलेनै हामी हौसिएर थप लगानी विस्तार गर्ने बेला भएको छैन।’
किआन केमिकल इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष वेदप्रसाद खरेलले इथानोल उद्योग राख्न निजी क्षेत्र तयार रहेपनि सरकारी कार्यालयको प्रशासनिक झन्झटले तनाव दिएको बताए। ‘हामीले जति बेला तयारी गरेका थियौं त्यो बेला सरकारले बेवास्था गर्या’े, अध्यक्ष खरेलले भने, ‘अहिले फेरि सरकार तातेको छ, आवश्यक कार्यविधि बनाए हामी फेरि तयार छौं, तर अव आश्वासनमा हैन निर्णयपछि मात्र काम अगाडी बढाउछौं।’
कसरी हुन्छ उत्पादन?
हाल नेपालमा चिनी उद्योगीहरूले इथानोल उत्पादन गरिरहेका छन्। उनीहरूले मोलासिस (खुदो)लाई प्रशोधन गरेर इथानोल बनाउँछन। उक्त इथानोल बंगलादेश निर्यात हुन्छ।
त्यसका लागि चिनी उद्योगबाटै पनि इथानोल उत्पादन गर्न सकिन्छ भने कसैले छुट्टै उद्योगसमेत सञ्चालन गर्न सक्ने बाटो खुलेको उद्योगीको भनाइ छ। इथानोलले सवारी साधनको इन्जिनबाट हुने उत्सर्जन कम गराएर प्रदूषण घटाउँछ। यो उखु, पराल, सुकेका घाँसलगायतका वस्तुबाट उत्पादन गर्न सकिन्छ। नेपालमा भारतबाट पेट्रोल आयात गर्नुपर्ने भएकाले विदेशी मुद्राको समेत बचत हुन्छ।
पेट्रोलमा इथानोल मिश्रण गर्न सके विदेशबाट आयात हुने वार्षिक करिब ६ अर्ब रूपैयाँ मूल्य बराबरको पेट्रोल आयात घटाउन सकिने अध्ययनले देखाएको छ। आयल निगमको अध्ययनमा पेट्रोलमा इथानोल मिश्रण गरेर बिक्री गरे मुलुकमा दैनिक चार लाख लिटर पेट्रोल खपत घट्छ।
नेपालमा दैनिक करिब ४० लाख लिटर पेट्रोल खपत हुन्छ। पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिन्छ। यसरी हेर्दा एक वर्षमा १४ करोड ४० लाख लिटर पेट्रोलको आयात कम गर्न सकिन्छ। आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोल आयात गरेर बिक्री गर्दै आएको छ।
निगमले प्रतिलिटर पेट्रोल खरिद गर्न आइओसीलाई करिब ८५ रूपैयाँ भुक्तानी गर्छ। पेट्रोलमा इथानोल मिश्रण गर्न सके वार्षिक १४ करोड ४० लाख लिटर पेट्रोल आयात घट्छ।