काठमाडौं। मुलुकको चौथो ठूलो दलका रूपमा उपस्थिति दर्ता गराएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला आन्तरिक संकटको भुमरीमा फँसेको छ। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पार्टीका संस्थापन सदस्यदेखि जिल्ला तथा वडा सभापतिसम्म एक दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरूले एकैपटक सामूहिक राजिनामा दिएका छन्। पार्टीको मेरुदण्ड मानिने केन्द्रीय तहका नेतादेखि जमिनी तहसम्म फैलिएको यो राजिनामाको लहरले रास्वपालाई भित्रैबाट हल्लाएको छ।
पार्टीबाट राजिनामा दिनेहरूको सूचीमा केन्द्रीय सचिवालय सदस्य सन्तोष परियार अग्रपंक्तिमा छन्। परियार पार्टीका संस्थापनकालीन नेता हुन् र पार्टी निर्माणमा उनको भूमिका उल्लेखनीय मानिन्थ्यो। त्यसैगरी एनआरएन विभागका उपप्रमुख प्रणयशमशेर राणाले पनि पार्टीको सदस्यता त्यागेका छन्। राणा पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क र गैरआवासीय नेपाली समुदायसँगको सम्बन्ध सुदृढ पार्ने जिम्मेवारीमा क्रियाशील थिए।
केन्द्रीय सदस्य सुमना श्रेष्ठले पनि पार्टीबाट बिदा लिएकी छन्। महिला नेतृत्वको प्रतिनिधित्वका दृष्टिले पार्टीमा महत्त्वपूर्ण भूमिका खेल्दै आएकी श्रेष्ठको राजिनामाले पार्टीलाई थप धक्का दिएको छ। त्यसैगरी केन्द्रीय वित्त विभाग सदस्य दिनेश आचार्यले पनि राजिनामा दिएका छन्, जसले पार्टीको आर्थिक व्यवस्थापन र स्रोत परिचालनमा मुख्य भूमिका निर्वाह गर्दै आएका थिए।
प्रदेश तहमा पनि यो असन्तुष्टिको लहर उत्तिकै प्रबल देखिएको छ। बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईले पार्टी छोडेका छन्। हुमागाई बागमती प्रदेशमा पार्टीको संगठन विस्तार र सुदृढीकरणमा अग्रसर रहेका थिए। मधेश प्रदेशकी संस्थापन सभापति ममता शर्माले पनि पार्टीको सदस्यता परित्याग गरेकी छन्। मधेश प्रदेशमा पार्टीको जगको रूपमा रहेकी शर्माको राजिनामाले त्यस क्षेत्रमा पार्टीलाई ठूलो नोक्सान पुर्याउने विश्लेषकहरूको अनुमान छ।
यस्तै, संस्थापन सदस्य उर्मिला भुर्तेल र नुवाकोटका जिल्ला सदस्य अशोककुमार थापाले पनि पार्टी परित्यागको घोषणा गरेका छन्। भुर्तेल पार्टीको स्थापनाकालदेखि नै सक्रिय रहेकी नेतृ हुन् भने थापाले नुवाकोट जिल्लामा पार्टीको सांगठनिक विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए।
स्थानीय तहमा पनि पार्टी छाड्नेको संख्या उत्साहजनक देखिन्न। सुस्ता गाउँपालिकाका उपसभापति गुप्तसेन ठकुरीले राजिनामा दिएका छन्। ठकुरीले स्थानीय तहमा पार्टीको सक्रिय उपस्थिति कायम राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए। नुवाकोटकी नेतृ कमला रावल पाण्डेले पनि पार्टी छोडेकी छन्।
त्यसैगरी बर्दघाट नगरपालिका–१३ का सभापति जीतबहादुर हरिजन र बारा जिल्ला संगठन विभाग प्रमुख पवन चौधरीले पनि पार्टीको सदस्यता परित्याग गरेका छन्। हरिजन र चौधरी दुवै आ–आफ्नो क्षेत्रमा पार्टीको मजबूत स्तम्भ मानिन्थे।
राजिनामाका कारण र त्यसपछिको गतिविधिबारे हेर्दा, केही नेताहरूले निर्वाचन घोषणाभन्दा अगावै पार्टी छोडिसकेका थिए भने केही नेताहरूले भने निर्वाचनको मिति नजिकिँदै गर्दा मात्रै राजिनामा दिएका हुन्। निर्वाचन अगावै पार्टी छोडेका नेताहरू मध्ये अधिकांशले अन्य राजनीतिक दलमा प्रवेश गरेर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराइसकेका छन् भने केही नेताहरू भने अझैसम्म कुनै दलमा औपचारिक रूपमा प्रवेश नगरी अलमलमा रहेका छन्।
निर्वाचनको माहौलमा राजिनामा दिएका नेताहरू भने विभिन्न पार्टीको छाता ओढेर आ–आफ्नो निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन भ्याइनभ्याई परेका छन्। यसले रास्वपालाई भने मतदाताको नजरमा कमजोर बनाउने खतरा बढेको छ।
चुनाव जति नजिकिँदै गयो, त्यति नै पार्टी छाड्नेको संख्या बढ्दै जाने क्रम रहेमा रास्वपाले यस निर्वाचनमा आफ्नो अपेक्षित प्रदर्शन गर्न सक्ने सम्भावना ओरालो लाग्न सक्छ। संस्थापनकालदेखि नै पार्टीसँग जोडिएका नेताहरूको यस प्रकारको सामूहिक प्रस्थानले पार्टीभित्रको आन्तरिक विवाद, नीतिगत मतभेद वा नेतृत्वप्रतिको असन्तुष्टिलाई प्रतिबिम्बित गर्छ।