काठमाडौं। अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका भन्सार शुल्कहरू खारेज गरेपछि उत्पन्न अनिश्चितताका कारण भारतले यस साता वासिङ्टन पठाउने तयारीमा रहेको व्यापार प्रतिनिधिमण्डलको भ्रमण स्थगित गरेको छ। भारतको वाणिज्य मन्त्रालयका एक स्रोतले आइतबार उक्त जानकारी दिएका हुन्।
अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनले लगाएका केही शुल्कहरू अस्वीकार गरेपछि त्यसको प्रतिक्रियास्वरूप राष्ट्रपति ट्रम्पले शनिबार सबै देशबाट हुने अमेरिकी आयातमा कानुनले अनुमति दिएको अधिकतम १५ प्रतिशतको अस्थायी भन्सार शुल्क लगाउने घोषणा गरेका थिए। एशियाली मुलुकहरूमध्ये यस निर्णयप्रति औपचारिक प्रतिक्रिया जनाउने पहिलो मुलुक भारत बनेको छ।
“दुई देशका अधिकारीहरूबीचको छलफलपछि भ्रमण स्थगित गर्ने निर्णय गरिएको हो,” संवेदनशील विषय भएकाले नाम नखुलाउने सर्तमा स्रोतले बताएका छन्। “भ्रमणको नयाँ मिति तय गरिएको छैन।” स्रोतका अनुसार शुक्रबारको अदालतको फैसलापछि भन्सार नीतिबारे उत्पन्न अन्योल नै भ्रमण स्थगित हुनुको मुख्य कारण हो।
भारतको प्रतिनिधिमण्डल आइतबार वासिङ्टन प्रस्थान गर्ने तयारीमा थियो। भ्रमणका क्रममा दुवै देशबीच अन्तरिम व्यापार सम्झौतालाई अन्तिम रूप दिने योजना थियो। यसअघि वासिङ्टनले भारतका केही निर्यातमा लगाएको २५ प्रतिशत दण्डात्मक भन्सार शुल्क घटाउने ढाँचामा सहमति भएको थियो। ती शुल्कहरू भारतले रूसबाट तेल खरिद गरेको विषयसँग सम्बन्धित थिए।
प्रस्तावित व्यवस्थाअनुसार अमेरिकी पक्षले भारतीय वस्तुमा लगाइएको शुल्क १८ प्रतिशतमा झार्ने र भारतले आगामी पाँच वर्षमा ऊर्जा आपूर्ति, विमान तथा पार्टपुर्जा, बहुमूल्य धातु र प्रविधि उत्पादनलगायतका अमेरिकी वस्तुहरू करिब ५०० अर्ब अमेरिकी डलर बराबर खरिद गर्ने सहमति भएको बताइएको थियो।
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कङ्ग्रेसले भने अन्तरिम सम्झौता स्थगित गर्न माग गर्दै पुनः वार्ता गर्नुपर्ने धारणा राखेको छ। साथै प्रधानमन्त्री नरेन्द्र मोदीले अदालतको निर्णयअघि संयुक्त वक्तव्य जारी गर्नु उचित नभएको भन्दै प्रश्न उठाएको छ।
शनिबार भारतीय वाणिज्य मन्त्रालयले अदालतको निर्णय र त्यसपछिका अमेरिकी घोषणाहरूको प्रभावबारे अध्ययन भइरहेको जनाएको थियो। गत साता वाणिज्य मन्त्री पीयूष गोयलले प्रतिनिधिमण्डलको भ्रमणपछि बाँकी विषय टुंगो लागेमा अन्तरिम व्यापार सम्झौता अप्रिल महिनादेखि कार्यान्वयनमा आउन सक्ने बताएका थिए।