नवलपरासी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नवलपरासी पश्चिम १ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। आइतबार आयोजित वृहत चुनावी र्यालीलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला संयोजक देवेन्द्रराज कँडेलले कांग्रेसको पक्षमा जनलहर देखिएको दाबी गरेका छन्।
उनले प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरीलाई ‘राष्ट्रिय ब्रान्ड’ को संज्ञा दिँदै क्षेत्रले त्यसलाई विकासको अवसरका रुपमा उपयोग गर्नुपर्ने बताएका छन्। कँडेलले नवलपरासी पश्चिम १ कांग्रेसको गढ क्षेत्र रहेको उल्लेख गर्दै चौधरीको अनुभव, पहुँच र क्षमताले क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
'विनोद चौधरी नेपालको एउटा स्थापित ब्रान्ड हुन्। यस्तो ब्रान्ड पश्चिम नवलपरासीले पाउनु गर्वको विषय हो। अब यस क्षेत्रका जनताले उहाँको अनुभव, पहुँच र क्षमतालाई विकासका अवसरमा रुपान्तरण गर्न सक्नुपर्छ,' उनले भने।
यस क्षेत्रका उम्मेदवार चौधरीको नेतृत्वमा आयोजित मोटरसाइकल र्यालीमा हजारौँ कार्यकर्ता तथा समर्थक सहभागी भएका थिए। चौपत्ता खुला चौरबाट सुरु भएको र्याली त्रिवेणी चोक, महलवारी, रुपौलिया, बेलाटारी, विजयनगर, गुठी प्रसौनी, पकलिहवा, बसहिया, मुजहवा र धननदवा लगायतका स्थान हुँदै सम्पन्न भएको थियो।
कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवारले पनि कांग्रेसको जित सुनिश्चित रहेको दाबी गर्दै पार्टी पङ्क्तिलाई एकताबद्ध भएर उम्मेदवारलाई विजयी गराउन आह्वान गरे।
चौधरीले पार्टी पङ्क्तिको साथ र सहयोगप्रति आभार व्यक्त गर्दै विकासलाई प्राथमिकता दिने प्रतिबद्धता दोहोर्याए। उनले क्षेत्रको विकासको जग बसिसकेको उल्लेख गर्दै त्यसलाई पूर्णता दिन सबै एकजुट भएर अघि बढ्ने बताए। निर्वाचन नजिकिँदै जाँदा नवलपरासी पश्चिम १ मा दलहरूबीच चुनावी प्रतिस्पर्धा थप चर्किँदै गएको छ।