काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा क्षेत्र ५ का प्रतिनिधिसभा उम्मेदवार बालेन्द्र साह ‘बालेन’ले आफ्नो चुनावी घोषणापत्र (वाचापत्र) सार्वजनिक गरेका छन्।
‘थिति बसाल्ने संकल्प’ नारासहित सार्वजनिक गरिएको वाचापत्रमा उनले ९ वटा मुख्य प्रतिबद्धतासहित भूमिहीन र सुकुमबासी समस्या समाधानका ठोस योजना अघि सारेका छन्।
बालेनको वाचापत्रमा झापा ५ मा रहेका सुकुमबासी, भूमिहीन तथा अव्यवस्थित बसोबासको समस्यालाई विशेष प्राथमिकता दिइएको छ। उनले रास्वपा सरकार गठन भएको १०० दिनभित्र अधिकारसम्पन्न आयोग गठन गर्ने र १००० दिनभित्रे भूमिसम्बन्धी समस्याको न्यायोचित र दिगो समाधान निकाल्ने प्रतिबद्धता जनाएका छन्।
यस्तै, बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्न र चक्लाबन्दी प्रवर्द्धनका लागि ‘ल्यान्ड बैंक’को व्यवस्था गर्ने तथा ऐलानी एवं नक्सांकन नभएका जग्गाको नापी नक्सा अभिलेखीकरण कार्य सम्पन्न गर्ने भनिएको छ।
यी हुन् बालेन बुँदा
सार्वजनिक वाचापत्रमा बालेनले ९ वटा मुख्य बुँदालाई आफ्नो कार्ययोजनाको मेरुदण्ड बनाएका छन्। उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र २०८२’ कार्यान्वयनको नेतृत्व गर्ने बताउँदै संविधानले सुनिश्चित गरेका आधारभूत आवश्यकता गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरणलाई हरेक नागरिकको पहुँचमा पुर्याउन आवश्यक कानुन र बजेटको व्यवस्था गर्ने उल्लेख गरेका छन् ।
राष्ट्रहित विपरीतका कुनै पनि सम्झौता नगर्ने।
सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त र झन्झटरहित बनाउने।
विकास र प्रकृति संरक्षणलाई सँगसँगै अगाडि बढाउने।
झापा क्षेत्र ५ मा व्यवस्थित संसद् सचिवालय स्थापना गरी स्थानीय सरोकारका विषयलाई सम्बोधन गर्ने।
राजनीतिलाई पेसा नभई सेवाका रूपमा स्थापित गर्ने।
जनताको मतलाई काममा रुपान्तरण गर्दै इमानदारी र परिणाममुखी राजनीति गर्ने।
बालेनले राजनीतिलाई सेवा, इमानदारिता र परिणाममा आधारित बनाउने संकल्प गर्दै मतदाता विश्वासलाई काममार्फत प्रमाणित गर्ने बताएका छन्।
रास्वपाले बालेनलाई सरकार बनाउने मत र संख्या पुगे प्रधानमन्त्री घाेषणा गरेर निर्वाचनमा हाेमिएकाे छ।