काठमाडौं। सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार सामान भित्रिने क्रम बढेपछि भैरहवा भन्सार कार्यालयले सयभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार महसुल लिने व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ।
मुख्य नाका बेलहिया, सीमावर्ती बजार फरेनियालगायत अन्य साना नाकाहरूमा कडाइ गरिएको छ। सीमावर्ती बजारबाट रु १०० बढीको समान ल्याए भन्सार महसुल बुझाउनुपर्ने भन्दै सशस्त्र प्रहरीले माइकिङ गरिरहेको छ।
सरकारको निर्देशन र स्थानीय प्रशासनको सक्रियतामा विगतमा फितलो बनेको उक्त व्यवस्थालाई पुनः प्रभावकारी बनाइएको भन्सार कार्यालयले जनाएको छ।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी उद्धव ढुङ्गानाले अघिल्लो हप्तादेखि नै सो व्यवस्थालाई पूर्ण रूपमा लागू गरिएको जानकारी दिए। उनका अनुसार भारतीय बजारबाट फर्किने सर्वसाधारणलाई सम्झाइबुझाइ गर्दै १०० भन्दा बढी मूल्यका सामानमा भन्सार काट्ने कार्य भइरहेको छ।
“सुरुका दिनमा जानकारी अभावका कारण सर्वसाधारणबाट गुनासो आएको थियो, तर अहिले सीमा नाकामा माइकिङमार्फत सचेतना फैलाइएको छ”, उनले भने, “यो व्यवस्थाले ठूलो मात्रामा राजस्व वृद्धि नगरे पनि चुहावट नियन्त्रण र कानुनी शासन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ।”
यसअघि पनि करिब डेढ वर्ष अगाडि स्थानीय व्यवसायीहरूको अगुवाइमा भैरहवा भन्सार कार्यालयले यो व्यवस्था लागू गरेको थियो। तर लागू गरेको करिब चार महिनामै कार्यान्वयन फितलो हुँदै गएको थियो।
सीमावर्ती क्षेत्रबाट भारतीय बजार हुँदै फर्किने सर्वसाधारणले उक्त मूल्यका सामानमा भन्सार अनिवार्य गरिएको व्यवस्थाप्रति तीव्र असन्तुष्टि जनाएका थिए। अहिले पनि धेरैजसो उपभोक्ताले आफूहरूलाई उक्त नियमबारे पहिले नै पर्याप्त जानकारी नदिइएको गुनासो गरेका छन्। सीमा नाकामा पुगेपछि मात्र भन्सार तिर्नुपर्ने जानकारी पाउँदा अनपेक्षित झन्झट भएको उनीहरूको भनाइ छ।
“हामीलाई पहिले नै जानकारी दिएको भए तयारी भएर आउँथ्यौँ, तर सीमानाकामै थाहा पाउँदा समस्या भएको छ”, एक सर्वसाधारणले गुनासो गरे। उनले १०० रुपैयाँ को सीमा अत्यन्तै न्यून र अव्यवहारिक भएको बताउँदै सामान्य घरायसी सामानमा पनि भन्सार तिर्नुपर्ने व्यवस्था व्यवहारमा कठिन भएको बताए।
यसैगरी, उपभोक्ताहरूले स्वदेशी बजारमा वस्तुहरूको मूल्य तुलनात्मक रूपमा महँगो रहेको भन्दै ध्यानाकर्षण गराएका छन्। भारतीय बजारमा समान वस्तुहरू सुलभ मूल्यमा र केही अवस्थामा गुणस्तरीय रूपमा पाइने भएकाले सीमापार किनमेल गर्ने प्रवृत्ति बढेको उनीहरूको तर्क छ।