काठमाडौं। भन्सार विभागको राजस्व संकलन चालू आर्थिक वर्ष २०८२/०८३ को सुरुवाती महिना साउनदेखि माघसम्म सातै महिना निरन्तर लक्ष्यभन्दा पछि परिरहेको छ। याे आर्थिक वर्ष मात्र होइन, गत आर्थिक वर्ष २०८१/८२ मा पनि ठीक यही अवस्था थियो। एक महिना पनि राजस्व संकलन सरकारले तोकेको लक्ष्यको बराबर पुग्न सकेन।
गत आव २०८१/८२ को साउनदेखि माघसम्म विभागले ३ खर्ब २५ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २ खर्ब ६५ अर्ब ९३ करोड रुपैयाँ मात्र संकलन भयो, जुन लक्ष्यको ८१.७ प्रतिशत हो। अर्थात् करिब ६० अर्ब रुपैयाँ लक्ष्यभन्दा कम संकलन भयो।
गत वर्षकाे महिनापिच्छेकाे विवरण हेर्दा, साउनमा ४५ अर्ब ३६ करोड रुपैयाँ लक्ष्य रहेकोमा ३४ अर्ब ६९ करोड अर्थात् ७६.५ प्रतिशत मात्र संकलन भयो। भदौमा ५० अर्ब ३८ करोड लक्ष्यको ७८.६ प्रतिशत अर्थात् ३९ अर्ब ५८ करोड संकलन भयो। असोज र कार्तिक दुवै महिनामा लक्ष्यको ८३.५ प्रतिशत (क्रमशः ३८ अर्ब ८१ करोड र ३३ अर्ब ८८ करोड रुपैयाँ) संकलन हुन सक्यो। मंसिरमा ८६.५ र पुसमा ८६.९ प्रतिशत उपलब्धि रह्यो। माघमा केही सुधार देखिए पनि ४५ अर्ब २३ करोड लक्ष्यको ८७.१ प्रतिशत अर्थात् ३९ अर्ब ३८ करोड मात्र संकलन भयो।
चालु आर्थिक वर्ष २०८२/८३ मा विभागले ७ महिनामा ३ खर्ब ३२ अर्ब ११ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो। तर २ खर्ब ८४ अर्ब २८ करोड रुपैयाँ मात्र संकलन भएको छ, जुन लक्ष्यको ८५.६ प्रतिशत हो।
हरेक महिनाकाे तस्वीर हेर्दा, साउनमा ४५ अर्ब ७१ करोड लक्ष्यको ८१.१ प्रतिशत अर्थात् ३७ अर्ब ९ करोड संकलन भयो। भदौमा ४८ अर्ब ५० करोड लक्ष्यविरुद्ध ४१ अर्ब ६ करोड अर्थात् ८४.७ प्रतिशत उठ्यो। असोजमा ८८.६ प्रतिशत उपलब्धि रह्यो। कार्तिकमा भने सात महिनाकै सबैभन्दा खराब अवस्था देखियो। ५० अर्ब ५२ करोड लक्ष्यको ७२.६ प्रतिशत अर्थात् ३६ अर्ब ७० करोड मात्र संकलन भयो। मंसिरमा परिस्थिति केही सुध्रिएर ९०.१ प्रतिशतमा पुग्यो। पुसमा ४६ अर्ब ७० करोड लक्ष्यको ८९.३ प्रतिशत उठ्यो भने माघमा ४५ अर्ब ७२ करोड लक्ष्यको ९३.८ प्रतिशत अर्थात् ४२ अर्ब ९१ करोड संकलन भयो, जुन चालु आवको सात महिनामा सर्वाधिक उपलब्धि हो।

भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले गत आवको तुलनामा चालु आवमा लक्ष्यभन्दा १८ अर्ब ३५ करोड रुपैयाँ बढी राजस्व संकलन भएको दाबी गरे। यद्यपि, उक्त तुलना वार्षिक लक्ष्यमा नभइ गत आवको वास्तविक संकलनका आधारमा गरिएको बताए।
आयात वृद्धि भए पनि राजस्व किन बढेन भन्ने प्रश्नमा बर्तौलाले भने, "आयात बढ्दैमा राजस्व नबढ्न पनि सक्छ।" उनका अनुसार चालु आवमा औद्योगिक कच्चा पदार्थ, विशेषगरी सोयाबिन तेल र सनफ्लावर तेलको आयात उल्लेख्य रूपमा बढेको छ, जसमा भन्सार शुल्क एक प्रतिशत मात्र लाग्छ कतिपयमा लाग्दैन। यसले गर्दा आयातको परिमाण बढे पनि राजस्व संकलनमा सो अनुपातमा वृद्धि नआएको उनले बताए।
दुई लगातार वर्षसम्म लक्ष्य पूरा गर्न नसकेको अवस्थामा वार्षिक राजस्व लक्ष्य भेटाउने विभागको दाबी सम्भवयाेग्य छ भन्ने प्रश्न स्वतः उठेको छ। विभागका अधिकारी भने "आयातमा यसरी नै वृद्धि भइरह्यो भने वार्षिक लक्ष्य भेटाउन सहज हुनेछ।"