काठमाडौं। नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र देशको अर्थतन्त्रलाई आमूल रूपान्तरण गर्ने महत्त्वाकांक्षी आर्थिक दृष्टिकोण सार्वजनिक गरेको छ। "बलियो अर्थतन्त्र, सक्षम नागरिक" नाराका साथ अघि सारिएको यो दृष्टिकोणले देशको कुल अर्थतन्त्रको आकार ११५ खर्ब रुपैयाँ पुर्याउने, प्रतिव्यक्ति आम्दानी २ हजार ५ सय अमेरिकी डलरमा पुर्याउने र मूल्यवृद्धि दर ५ प्रतिशतभन्दा तल राख्ने लक्ष्य लिएको छ। यो दृष्टिकोणलाई निजी क्षेत्रले पनि सकारात्मक दृष्टिले हेरेको छ।
काँग्रेसको यो आर्थिक प्रतिज्ञाको सबभन्दा चर्चित पक्ष भनेको लगानी परिचालनसम्बन्धी लक्ष्य हो। पार्टीले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कुल १३७ दशमलव ५ खर्ब रुपैयाँ लगानी परिचालन गर्ने र त्यसमध्ये ८० प्रतिशत हिस्सा निजी क्षेत्रबाट जुटाउने प्रस्ताव गरेको छ। यसको अर्थ सरकारले मुख्य लगानीकर्ताको भूमिकाबाट हटेर सहजकर्ताको भूमिकामा आउने र निजी पुँजीलाई अर्थतन्त्रको चालक शक्ति बनाउने नीति अँगाल्ने हो — जुन कुरा उद्योग व्यवसायी र लगानीकर्ताहरूले लामो समयदेखि माग गर्दै आएका थिए।
व्यापार घाटाको सवालमा काँग्रेसले हालको ९०:१० को गम्भीर असन्तुलनलाई आगामी पाँच वर्षभित्र २०:८० मा ल्याउने प्रतिबद्धता जनाएको छ। अर्थात् हाल ९० प्रतिशत आयातको भारले थिचिएको नेपालको व्यापार संरचनालाई पूर्णतः पल्टाउँदै निर्यातलाई ८० प्रतिशतमा पुर्याउने यो लक्ष्य अत्यन्त महत्त्वाकांक्षी मानिन्छ। निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापनमार्फत यो असन्तुलन घटाउन सकिएमा विदेशी मुद्रा सञ्चितिमा उल्लेखनीय सुधार आउने र रेमिट्यान्समाथिको निर्भरता घट्ने अर्थविद्हरूको भनाइ छ।
निजी क्षेत्रले यो दृष्टिकोणको सराहना गर्दै सरकारी लगानीभन्दा निजी लगानीलाई प्राथमिकता दिने नीति र मूल्यवृद्धि नियन्त्रणको लक्ष्यलाई व्यावसायिक वातावरणका लागि अनुकूल मान्छ। स्थिर मूल्य, पूर्वानुमानयोग्य नीति र निजी क्षेत्रमैत्री वातावरण भए लगानी आफैँ आउने उद्योगीहरूको तर्क छ।
तर यो दृष्टिकोण जति आकर्षक देखिन्छ, कार्यान्वयन त्यति नै चुनौतीपूर्ण पनि छ। संरचनात्मक सुधार, सुशासन र नीतिगत स्थिरताबिना यी लक्ष्य केवल कागजी प्रतिज्ञा बन्ने जोखिम छ। विगतमा पनि विभिन्न सरकारले यस्तै महत्त्वाकांक्षी आर्थिक लक्ष्य तय गरेका थिए, तर जमिनमा परिणाम देखाउन सकेनन्। यसपटक काँग्रेसले विश्वसनीयता कायम गर्न लक्ष्य मात्र नभई त्यसको कार्यान्वयन रोडम्यापसमेत स्पष्ट पार्नुपर्ने चुनौती भने यथावत् छ।