काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०ले चितवनले देशलाई पर्यटन प्रवर्द्धन कसरी गर्ने भन्ने पाठ सिकाउन सक्ने बताएका छन्। शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले स्थानीय उत्पादन, संस्कृति र समुदायमा आधारित पर्यटनलाई राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्ने धारणा राखे।
उनले चितवनका थारु समुदायले सञ्चालन गरेका होमस्टे र रिसोर्टहरूको उदाहरण दिँदै स्थानीय उत्पादन, परम्परागत लुगा, मौलिक संगीत र खानालाई पर्यटनसँग जोडेर प्रभावकारी रूपमा प्रवर्द्धन गरिएको बताए। “यहाँ उत्पादन भएको वस्तु यहीँ प्रयोग गरिएको छ, यहाँको पहिचानलाई नै ब्रान्ड बनाइएको छ,” उनले भने, “यसरी पर्यटन प्रवर्द्धन गर्ने अभ्यासबाट विश्वले पनि सिकेको छ। त्यसैले चितवनले देशलाई पर्यटन सिकाउनुपर्छ।”
बालेनले कृषि क्षेत्रमा देखिएको समस्या पनि उठान गरे। चितवनमा उत्पादित तरकारी र दूधले उचित मूल्य नपाइरहेको उल्लेख गर्दै उनले यसको प्रमुख कारण विचौलिया प्रणाली भएको दाबी गरे। किसानले मेहनत गरेर उत्पादन गरे पनि बजारसम्म पुग्दा मूल्य नियन्त्रण विचौलियाको हातमा जाने अवस्था रहेको उनको भनाइ थियो।
उनले भारतबाट आयात हुने कृषि उत्पादनलाई नियन्त्रण गरेर स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए। “यदि भारतको उत्पादन रोक्ने र नेपालकै उत्पादनलाई बजार दिने नीति लिइयो भने चितवनका किसानले मनग्य फाइदा लिन सक्छन्,” उनले भने। स्वदेशी उत्पादन संरक्षण र बजार व्यवस्थापनमा सरकार स्पष्ट नीति र दृढ इच्छाशक्ति आवश्यक रहेको उनको धारणा थियो।
उनले पर्यटन र कृषि दुवै क्षेत्रलाई स्थानीय पहिचानसँग जोडेर अगाडि बढाउन सके आर्थिक समृद्धिको आधार तयार हुने बताए। स्थानीय स्रोत, सीप र संस्कृतिलाई उपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा उनले जोड दिए।