काठमाडौं। वर्षौंदेखि भृकुटीमण्डपमा रहेको संरचनाको भाडामा लिएर नतिर्नेहरूको सटरमा ताला लगाएको छ। भाडा नतिर्नेमा ऋषि धमलाको रिपोर्टस क्लबदेखि पत्रकार महासंघको कार्यालयसम्म रहेको छ।
समाज कल्याण परिषद्ले सुरक्षाकर्मीको सहयोगमा सोमबार भाडा लिएर पनि नतिर्नेमध्ये २० वटामा आज ताला लगाएको हो। यहाँ सबैभन्दा धेरै भाडा तिर्न बाँकी रहेको संस्था हो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाज रहेको छ। यो संस्थाले परिषद्लाई १ करोड ७६ लाख ७० हजार २८१ रुपैयाँ भाडा तिर्न बाँकी छ। यो संस्थाले लिएको स्टल नम्बर ६८ को भाडा हो।
त्यस्तै यही संस्थाले स्टल ३४ भाडामा लिएबापत १ करोड १३ लाख ५३ हजार ९५ रुपैयाँ तिर्न बाँकी छ । राष्ट्रिय अपांग महासंघले पनि परिषद्लाई १ करोड १६ लाख ३२ हार २७ रुपैयाँ भाडा नतिरेको परिषद्ले जनाएको छ। बालबालिकाका लागि गैरसरकारी संस्था महासंघ नेपाल स्टल नम्बर ७४ ले पनि ८९ लाख ९० हजार ७४६ रुपैयाँ भाडा तिरेको छैन।
एमाले निकट अनेरास्ववियु (अखिल)ले स्टल नम्बर ६० र ६१ भाडामा लिएको र ०७७ सालदेखि अहिलेसम्म भाडा नतिरेको परिषद्ले जनाएको छ। त्यस्तै नेपाल राष्ट्रिय मानव अधिकार संरक्षण मञ्चले पनि २१ लाख ८५ हजार ९५७ रुपैयाँ भाडा तिरेको छैन। ऋषि धमला सञ्चालक रहेको रिपोर्टस क्लब नेपालले ७३ लाख ४० हजार ९० रुपैयाँ भाडा नतिरेपछि आज ताला लगाइएको छ।
त्यस्तै उपभोक्ता मञ्च नेपालले ४५ लाख ५७ हजार ९०७ रुपैयाँ, लोकतान्त्रिक सहिद तथा घाइते समाजले १४ लाख ६१ हजार ३७०, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले ३३ लाख ७ हजार ४२१ रुपैयाँ भाडा तिरेको छैन।
नारायणकुमारी निरौला खाजा पसलले २ लाख ७३ हजार १३ रुपैयाँ, बुद्धिराम भुसाल खाजा पसलले ६ लाख ८७ हजार ७३४ रुपैयाँ, मञ्जु तिमिल्सिना खाजा पसलले ९ लाख ७ हजार ७१० रुपैयाँ, चित्रबदुर पण्डित क्षेत्री खाजा पसलले २ लाख १९ हजार ५६७ रुपैयाँ, नेपाल फोटो पत्रकार महासंघले २० लाख ६८ हजार रुपैयाँ भाडा नतिरेपछि आज ताला लगाइएको छ।
त्यस्तै सेन्थेसिस एक्जिबिसन एन्ड इभेन्ट्स १० लाख रुपैयाँ, मनकला श्रेष्ठ जुत्ता पसलले ७ लाख ४६ हजार २३ रुपैयाँ, टीकाराम सिटौला जुत्ता पसलले ११ लाख ८० हजार ६२५ रुपैयाँ, कृष्णप्रसाद लामिछाने जुत्ता पसलले ८ लाख ९८ हजार १६३ रुपैयाँ, यशोदाकुमारी सेठी खाजा पसलले १० लाख ५९ लाख १५६ रुपैयाँ, हरि अमात्य खाजा पसलले ५ लाख १५ हजार ६६४ रुपैयाँ भाडा तिर्न बाँकी छ।