काठमाडौं। कैलाली क्षेत्र नम्बर १ का उम्मेदवार जनकराज चौधरीले कृषि, संस्कृतिलगायत विषय आफ्नो एजेन्डा बनाएका छन्। नेपाली कांग्रेसका चौधरीले कृषि र संस्कृतिलाई राख्दै रोजगारी सिर्जना गर्ने योजना अघि सारेका हुन्।
उनले आफ्नो क्षेत्रमा आधुनिक कृषि प्रणाली विकास गरी किसानलाई समृद्ध बनाउने लक्ष्य रहेको बताएका छन्। कृषिलाई क्षेत्रको मुख्य अर्थतन्त्रको आधार मान्दै किसानको श्रमअनुसार उचित मूल्य सुनिश्चित गर्ने नीति आवश्यक रहेको उनको भनाइ छ।
उनका अनुसार कैलालीका अधिकांश नागरिक खेतीपातीमा निर्भर भएकाले कृषि प्रणाली सुधार गर्नु प्राथमिकता हो। ‘कृषि मजदुर र किसानले पसिनाअनुसारको मूल्य पाउने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि फरक ढंगले नीतिगत व्यवस्था गर्नुपर्छ।’
त्यसैगरी, उनले संस्कृतिलाई पहिचान र रोजगारीसँग जोड्ने योजना पनि अघि सारेका छन्। स्थानीय संस्कृति संरक्षण र प्रवद्र्धनका लागि सरकारी स्तरमै सांस्कृतिक विद्यालय तथा कल्चरल एकेडेमी स्थापना गर्ने कार्यक्रम ल्याउने उनको प्रतिबद्धता छ।
यस्तै, सो स्थानका युवालाई रोजगारीका लागि पलायन भइरहेको अवस्थालाई ध्यानमा राख्दै कृषिमा आकर्षण बढाउने नीति ल्याइने चौधरीले बताए। कृषि क्षेत्रलाई उत्पादनशील र सम्मानजनक पेशा बनाउनेतर्फ आफूले विशेष पहल गर्ने उनको तर्क छ।
उम्मेदवारले कृषि क्रान्ति र सांस्कृतिक पहिचानमार्फत आफ्नो क्षेत्रको आर्थिक तथा सामाजिक विकास गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन्। पुरानो लोकतान्त्रिक दल कांगे्रसले कृषि र देशमा युवालाई रोजगारी सुनिश्चितता गर्ने योजनाका साथ चुनावी मैदानमा छ।
नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको ‘प्रतिज्ञा पत्र’मार्फत कृषि र रोजगारीलाई आफ्नो मुख्य चुनावी एजेन्डाका रूपमा अघि सारेको छ। पार्टी सभापति गगन थापाको नेतृत्वमा सार्वजनिक गरिएको सो पत्रमा देशलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने र युवा पलायन रोक्ने ठोस योजना समेटिएका छन्।
कांग्रेसले आगामी १० वर्षलाई ‘कृषि, खाद्य तथा पोषण सुरक्षा दशक’ का रूपमा मनाउने घोषणा गरेको छ। यसका लागि पार्टीले स्थानीय सरकारले कुल बजेटको १५ प्रतिशत र प्रदेश सरकारले १० प्रतिशत रकम अनिवार्य रूपमा कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ।
परम्परागत खेतीलाई आधुनिक उद्यममा बदल्न ‘परियोजना धितो’ मा ऋण दिने नीति अघि सारिएको छ। जसमा साना किसानको श्रमलाई पनि पुँजीका रूपमा मान्यता दिइने उल्लेख गरेको छ।
साथै, १५ दिनभित्रै कृषि बीमा भुक्तानी गर्ने, सिँचाइको बिजुलीमा ५० प्रतिशत अनुदान दिने र खेतबारीदेखि बजारसम्म ताजा उत्पादन पुर्याउन ‘कृषि एम्बुलेन्स’ सञ्चालन गर्ने जस्ता व्यावहारिक योजनाहरूले किसानलाई प्रत्यक्ष राहत दिने कांग्रेसले दाबी गरेको छ।
पहाडी भेगका किसानका लागि ठूलो चुनौती बनेको जंगली जनावरको आतंक नियन्त्रण, भूमि बैंकको स्थापना र खाडी मुलुकमा तरकारी निर्यात गर्ने जस्ता कार्यक्रम पनि प्रतिज्ञापत्रमा प्राथमिकताका साथ समावेश गरिएका छन्।
यस्तै, कांग्रेसले रोजगारीमा ‘हरेक हातलाई काम, हरेक कामलाई सम्मान’ भन्ने नारासहित पाँच वर्षभित्र १५ लाख नयाँ रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ। ‘डिग्रीसँगै सिप, पढाइसँगै कमाइ’ को अवधारणालाई कार्यान्वयन गर्दै शैक्षिक जनशक्तिलाई स्वदेशमै रोजगारीको अवसर दिने र बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्ने प्रतिज्ञापत्रमा उल्लेख छ।
‘रोजगारी केवल जीविकोपार्जनको माध्यम मात्र होइन, यो नागरिकको आत्मसम्मान र राष्ट्र निर्माणको पौरख हो।’ भन्ने विषय कांग्रेसले उल्लेख गरेको छ।
आगामी चुनावीका लागि कांग्रेसको घोषणपत्र अनुसार, कैलाली क्षेत्र नम्बर १ उम्मेद्वार चौधरीले पनि कृषि र युवा रोजगारीलाई आफ्नो एजेन्डा बनाएका छन्।